अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तथा विश्वविद्यालय कमाण्ड इन्चार्ज सन्दिप पुनले संगठनलाई नयाँ उचाइमा पुर्याउन संगठनभित्र मौलाउँदै गएका प्रतिगामी प्रवृत्तिहरूलाई परास्त पार्नु जरुरी भएको बताएका छन्।
पोखरा विश्वविद्यालय उपत्यका जिल्ला अन्तर्गतको कसमस मूल इकाई समितिको १२औं सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष पुनले संगठनभित्र पछाडि तान्न खोज्ने र अराजकता फैलाउने तत्वहरू अझै सक्रिय रहेको बताए। उनले भने, “संगठनभित्र मौलाउँदै गएका अराजकता र अन्योलताको विरुद्ध पुल्चोकदेखि कसमससम्म हाम्रो अभियान सफल छ। अब हामी अझ सशक्त र स्पष्ट विचारको संगठन निर्माणमा अग्रसर हुनुपर्छ।”
उनले अखिल (क्रान्तिकारी) लाई अन्य विद्यार्थी संगठनहरूभन्दा फरक, विशिष्ट र संघर्षशील संगठनको रूपमा चित्रण गर्दै सबैलाई एकताबद्ध ढंगले अघि बढ्न आह्वान गरे।
माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव शक्ति बस्नेतको सक्रियतामा सम्मेलन रोक्ने प्रयास गरिएको आरोप लाग्दै आएको छ। सम्मेलनको पूर्वसन्ध्यामा संगठनबाहिर रहेका केही व्यक्तिहरूलाई हलभित्र प्रवेश गराई ब्यानर र झण्डा च्यातिएको घटनाले संगठनभित्र चर्को विवाद निम्त्याएको थियो।
त्यसपश्चात विश्वविद्यालय प्रदेश समिति र उपत्यका जिल्ला समितिले संयुक्त रूपमा उक्त घटनाको कडा विरोध गर्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए। सोही घटनापछि तीन महिनादेखि सञ्चालनमा रहेको संगठन सुदृढीकरण अभियान समेत नेतृत्व तहबाट स्थगित गरिएको थियो।
यस्तो संवेदनशील परिस्थितिमा पनि सबै अवरोध पार गर्दै सम्मेलन अन्ततः सम्पन्न भएको हो।
सम्मेलनको प्रमुख अतिथिका रूपमा उपाध्यक्ष सन्दिप पुन तथा विशिष्ट अतिथि रूपमा केन्द्रीय महासचिव रोसन थापा मगर, उपमहासचिव जटिल कार्की, केन्द्रीय सचिव युन्छोहाङ मावो, सचिवालय सदस्य सञ्जित गुरुङ, विश्वविद्यालय प्रदेशका नेता गणेश ज्ञवालीलगायतको उपस्थिति थियो। सम्मेलनको अध्यक्षता संयोजक नवीन अवस्थीले गरेका थिए।
सम्मेलनले मनिष अवस्थीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ इकाई समिति चयन गरेको छ। समितिका उपाध्यक्षहरूमा मञ्जु बोकटी, अनुप भट्ट र ईश्वर महत चयन भएका छन्। अनमोल पाल सचिवमा निर्वाचित भएका छन् भने सहसचिवमा विवेक झा, सन्तोष कार्की, अमृत खाम्चा र कोषाध्यक्षमा सन्ध्या भुसाल चयन भएका छन्।
नवगठित समितिलाई संगठनका विभिन्न तहबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। सम्मेलनले संगठनलाई थप सुदृढ, ऊर्जाशील र संघर्षशील बनाउने विश्वास व्यक्त गरिएको छ।
यो सम्मेलनले केवल कसमस इकाई समिति मात्र होइन, सम्पूर्ण विद्यार्थी आन्दोलन र अखिल (क्रान्तिकारी) को भावी यात्रामा पनि सकारात्मक सन्देश दिएको धारणा राखिएको छ।
प्रतिक्रिया