logo
  • २०८२ फाल्गुन ३० | Sat, 14 Mar 2026
  • Dark Mode

          Subscribe

    मसुरीका महसुर नेपाली!

    • bethanchowk bethanchowk
    • २०८२ श्रावण ९, शुक्रबार ०६:१८
    मसुरीका महसुर नेपाली!

    लगभग नगरकोटको उचाइ (२,१०० मिटर) मा फैलिएको भारत, उत्तराखण्डको प्रसिद्ध गन्तव्य हो मसुरी।

    सडकमा गर्मी महिनामा घुमन्तेहरूको अचाक्ली भिड हुन्छ। कता कता हिमाचलको शिमलाको मल रोड वरपर जस्तै; कता कता दार्जिलिङको चौरस्ता क्षेत्रमा जस्तै; कता कता सिक्किमको गान्तोकको एमजी रोडमा जस्तै।

    पहाड माथिबाट प्राय: दक्षिण फर्किएर बसेको मसुरीको मल रोडबाट तल दक्षिणैतिर देखिन्छ उत्तराखण्डको राजधानी एवं भारतको पुरानै शैक्षिक केन्द्र देहरादुन सहर।

    शिवालिक (चुरे) र मसुरीको पहाडबीच बसेको देहरादुन कता कता काठमाडौं जस्तै देखिन्छ, तर आँखाले भ्याएसम्म पूर्व–पश्चिम तन्किएको।

    महाकाली सीमादेखि झन्डै ४०० किलोमिटर पश्चिममा पर्ने मसुरीको सडकमा दार्जिलिङ वा सिक्किममा जस्तो नेपालीभाषी वा नेपाली नागरिक भेटिने कल्पना कम्तीमा हामीले गरेका थिएनौं। नेपालदेखि यति टाढा हामीले अझ नेपाली ब्रान्डको खेल–पोशाकको पसल भेटिने कल्पनै गरेका थिएनौं।

    तर मसुरीले हामीलाई गलत प्रमाणित गरिदियो।

    mussoorie-pic-by-Surendra-P1-1753352481.jpg
    मसुरीको मल रोडमा रहेको केटिएम सिटीको पसल। तस्बिरः सुरेन्द्र फुयाल

    दिउँसो मसुरीका झरिपानी, लान्दोर लगायत पहाड भिजाउने गरी दर्किएको सिमसिम पानी साँझपख रोकियो।

    लगत्तै उत्तर भारतका विभिन्न स्थानबाट गर्मी छल्न वा बिदा मनाउन आएका घुमन्तेहरू स–परिवार मल रोडमा निस्किन थाले।

    Ncell

    कपडा पसलमा काम गर्ने एउटी युवतीको अनुहार नेपालीको जस्तो लाग्यो। हो रहेछ।

    उनलाई ‘एटिएम मेसिन कता छ’ भनी सोध्दा जबाफ आयो, ‘अलि माथि छ।’

    मल रोडको ब्रिटिस उपनिवेशकालीन प्रख्यात रोप–वे चढ्ने स्थान नजिकै अझै रमाइलो दृश्य देखियो — व्यस्त बजारबीच केटिएम सिटीको झलमल्ल थियो।

    नेपालका बजारमा भारतीय ब्रान्ड छ्यापछ्याप्ती हुनु नौलो भएन। तर भारतमा नेपाली ब्रान्डको पसल देखेपछि मसिनो गौरव जाग्ने भइहाल्यो। त्‍यसैलै सोधखोज गर्न मन लागिहाल्यो। पसल भित्रकी एक्ली कर्मचारी रहिछन् दार्जिलिङकी एक नेपालीभाषी युवती।

    ‘यो पसलको साहुजी भारतीय हुन् कि नेपाली?’

    भनिन्, ‘साहुजी नेपालकै हुनुहुन्छ।’

    हामी काठमाडौंबाटै आएको भन्दा उनी मुस्कुराइन्।

    अलि पर मल रोडको भिडमा एक भारतीय आमासँगै हिँडिरहेको छुकछुके बालक सम्हाल्न उनी सँगसँगै दौडिरहेका थिए एक नेपाली पुरूष। शिरको ढाका टोपी उनको परिचय दिन काफी थियो।

    कुममा भिरेको झोला र नाम्लो हेर्दा थाहा पाइन्थ्यो, उनी ‘मसुरी सहरको बोझ’ आफ्नो हात अनि थाप्लो र पिठ्युँमा बोक्ने सैयौं नेपाली भरियामध्ये एक हुन्।

    एकै छिनपछि मल रोडको अर्को व्यस्त कुनामा उनी जस्तै एक हुल नेपाली कर्मयोगी भेटिए। सबैको शिरमा सक्कली ढाका टोपी।

    mussoorie-pic-by-Surendra-P2-1753352481.jpg
    मसुरीको मल रोडमा बालकलाई सम्हाल्न मद्दत गरिरहेका नेपाली। तस्बिरः सुरेन्द्र फुयाल

    उनीहरूमध्ये प्रायः कर्णाली प्रदेशको कालिकोटबाट मजदुरी गर्न आएका रहेछन्।

    एक जना अगुवा, ५७ वर्षीय बलबहादुर शाहीको भनाइ मान्ने हो भने, उनीहरू हिजोआज मात्र होइन, सात–आठ पुस्तादेखि नै मजदुरी गरेर केही रूपैयाँ कमाउन मसुरी आउनेजाने गरेका छन्।

    त्यसको अर्थ, कालिकोटका शाही र थुप्रै अन्य पौरखी नेपालीहरू कर्णालीको पहाडको आफ्नो घरदेखि कम्तीमा दुई दिनको मोटर यात्रा गरेर पश्चिम सीमा महाकाली पार गरेर उत्तराखण्डको मसुरी आउजाउ गर्छन्।

    अनि पूर्वतिरका पोखरा र काठमाडौंजस्ता सहर भन्दा उनीहरूलाई भारतकै पहाड सहज लाग्दो रहेछ।

    ‘वैशाख–जेठ–असारमा यहाँ काम बढी पाइन्छ र कमाइ पनि अलि बढी हुन्छ। अरू बेला त आफ्नो गाउँ फर्किने हो,’ भर्खरै सल्काएको बिडीको धुवाँ फाल्दै बलबहादुरले भने।

    मासिक कमाइबारे जिज्ञासा राख्दा उनले भने, ‘महिनामा १० हजार भारू (भारतीय रूपैयाँ) जति हुन्छ। बस्ने, खाने खर्च कटाएर त्यसको आधा मात्र बचत हुन्छ।’

    उनको कुममा नाम्लो अर्को भारी बोक्न तम्तयार थियो।

    हुन पनि उनीजस्ता नेपालीहरू मसुरीका बलिया सहारा रहेछन्। सहरलाई नभइ नहुने सहयोगी रहेछन्। मसुरीमा मात्र होइन, उत्तराखण्डका देहरादुन, हरिद्वार र अझै माथि हिमाली क्षेत्रका प्रख्यात हिन्दु तीर्थस्थल बद्रीनाथ र केदारनाथमा पनि थाप्लो र पिठ्युँमा सरसामान र मानिसको बोझ बोक्ने अधिकांश मजदुर नेपालबाटै आएका हुन्छन्। त्यो पनि वर्षौं वर्षदेखि।

    सायद धन्य छ नेपाल–भारत खुला सिमाना र आवतजावतको दुईपक्षीय सहमति।

    अघिल्लो साँझ मात्रै हामी दिल्लीबाट तीन सय किलोमिटर लामो सडक यात्रा गर्दै देहरादुन सहर पार गरेर नेपालको जस्तो घुमाउरो बाटो उक्लिँदै एउटा कारमा मसुरी आइपुगेका थियौं। देहरादुनदेखि उकालो लाग्दा गर्मी छल्ने उत्तर भारतीय सहरियाहरूको मोटरका लश्करका कारण सडक यात्रा निकै सुस्त र सकसपूर्ण भएको थियो।

    यति धेरै सास्तीयुक्त कि देहरादुनदेखि ३६ किलोमिटरको उकाली सडक पार गर्न हामीलाई कम्तीमा दुई घन्टा लागेको थियो।

    मसुरी बजारको मध्यभागमा पुगेपछि सुस्केरा हाल्दा हाम्रा झोला बोकिदिएर साथ दिने दुई सहयोगी पनि नेपालकै थिए, कर्णालीको कालिकोट घर भएका।

    mussoorie-pic-by-Surendra-P3-1753352482.jpg
    मसुरी। तस्बिरः सुरेन्द्र फुयाल

    ‘आधा नेपाल यतै छ’

    खुला सीमा र आवतजावत भएकैले हुनुपर्छ, भारतमा नेपालीहरू नपुगेको कुनै सहर छैन, कुनै राज्य छैन। प्रवासी नेपाली अगुवाहरूका अनुसार उनीहरू भारतका लक्ष्यद्वीपदेखि आन्दामन तथा निकोबारसम्म पनि पुगिसकेका छन्। जहाँ उनीहरू विभिन्न काममा अल्झिएका छन्।

    मानिसहरूको आउजाउ चलिरहने हुनाले सायद यकिन संख्या थाहा पाउन असम्भव छ। तर एक अनुमान अनुसार भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी समेत गणना गर्न हो भने, कम्तीमा ४० लाख नेपालीहरू भारतमा छन्।

    दशकौं वा सदियौंअघि, सन् १८१४–१८१६ को नेपाल–ब्रिटेन युद्धताकादेखि भारत छिरेर त्यहीँका नागरिक बनिसकेका नेपालीको संख्या पनि दसौं लाख पुगिसकेको छ। सिक्किम, दार्जिलिङ, असम तथा उत्तराखण्डकै देहरादुन र हिमाचलको शिमला गोर्खाली नेपाली बहुल क्षेत्रका केही उदाहरण हुन्।

    मसुरी सहरमा कति नेपाली छन् भन्ने आधिकारिक तथ्यांक छैन। तर लाइभमिन्ट अनलाइन अखबारमा प्रकाशित ‘मसुरीको बोझ बोक्ने हातहरू’ शीर्षकको एक समाचार अनुसार करिब चार हजार नेपाली त्यहाँ छन्। तीमध्ये केहीले मसुरीलाई नै आफ्नो स्थायी ठेगाना बनाइसकेका छन्।

    अंग्रेजको हिल स्टेसन अर्थात् गर्मी छल्ने गन्तव्यका रूपमा मसुरीको इतिहास करिब दुई सय वर्ष पुरानो छ। यहाँ सन् १८२३ देखि ब्रिटिसहरूको चहलपहल सुरू भएको बताइन्छ।

    हामी मल रोडमा हिँड्दा हिँड्दै अर्का कालिकोटे पात्र भेटिए — जगे नेपाली।

    कालिकोटको धाँसेरामा जन्मिएका ५७ वर्षीय जगे हिजोआज स–परिवार बर्दियाको ढोडरी बसाइँ सरिसकेका छन्। किशोरावस्थादेखि नै मसुरी मजदुरी गर्न आउन थालेका उनले यो गढवाली सहर बिर्सेनन्।

    भन्छन्, ‘छोराछोरी पाल्न र घर खर्च चलाउन यहाँबाट रोज पैसा पठाउँछु साथीभाइको हातमा।’

    दिनको पाँच सय रूपैयाँ जति कमाइ गर्न उनी भारी त बोक्छन् नै, साथमा घुमन्तेका केटाकेटीलाई सडकमा गुडाउने आरामदायी ‘पुसकार्ट’ पनि राख्छन्। त्यसलाई भाडामा दिँदा थप आम्दानी हुन्छ।

    mussoorie-pic-by-Surendra-P4-1753376451.jpg
    कालिकोटका जगे नेपाली। तस्बिरः सुरेन्द्र फुयाल 

    उनी मसुरी र अन्य भारतीय सहर–बजारमा नेपालीको बाक्लो उपस्थितिबारे केही जानकार रहेछन्।

    ठोकुवा गरिहाले, ‘पूरै कालिकोटका युवा मात्र होइन, लगभग आधा नेपाल भारतमै छ। आधा नेपाली देशमा छन्, आधाले यहीँ रोजगारी गरिरहेका छन्।’

    त्यसको सम्भाव्य कारणबारे सोध्दा उनी आक्रोशित भए।

    बिडी सल्काए र तान्न थाले।

    केही काम आयो कि भन्दै वरिपरि नजर डुलाए र जंगिए, ‘देशमा रोजगारी छैन, अनि त्यहाँ के गरेर बस्ने हो? यहाँ रोजगारी पनि छ। यहाँका मानिसलाई सरकारले हेर्छ। नेपालमा सरकारले हामीलाई हेर्दैन।’

    त्यसपछि उनले धेरै नेपालीहरूले प्रायः गर्ने जसरी नै नेपालका नेताहरूलाई गालीगलौज गरे। त्यो क्रम रोकिने छाँट देखिएन।

    केही बेरमा बाटोमा एउटा घुमन्ते भारतीय युवा जोडी सानो बच्चासहित उनी नजिकै आए र उनको पुसकार्टतिर आँखा लगाउँदै उनीसँग कुरा गर्न थाले। हामी हात हल्लाएर बिदा भयौं।

    जगे नेपाली र बलबहादुर शाही जस्ता नेपालीहरू रोजगारीको खोजीमा किन आफ्नो थातथलोभन्दा ७ सय किलोमिटर पर मसुरी पहाड आइपुगे होलान्? उनीहरू नेपालकै काठमाडौं वा अन्य सहर जान सक्थेनन्? के मसुरी कालीकोट जस्तै पहाड भएकाले यता आएका होलान्?

    त्यो साँझ यस्तै प्रश्नहरूले मलाई घोचिरहे।

    मसुरी आएका अरू महसुर नेपाली

    इतिहासको संयोग पनि अनौठो!

    सन् १८१४–१८१६ मा चलेको नेपाल–ब्रिटेन युद्धका बेला हजारौं गोर्खाली सैनिकको फौज महाकाली पारिका कुमाउँमा अधिपत्य जमाएर गढवाल आइपुगेको थियो। त्यति बेला मसुरी नजिकै पर्ने नालापानीको किल्लामा बहादुरीपूर्वक लडेर गोर्खाली फौज हिमाचलमा पर्ने मलाउ र काङ्ग्रा लगायत किल्लाहरूमा अंग्रेजसँग वीरतापूर्वक लडेको इतिहास छ।

    सन् १८१६ मा सुगौली सन्धि भएपछि थुप्रै गोर्खाली नेपाल फर्किए तर कैयौं गोर्खालीले आफूले लडेको रणमैदान नजिकै यतै नयाँ बसेरा बनाए। त्यसरी मसुरी वरपर बसोबास गरेका गोर्खालीका सन्तानले आफ्नो रितीथिती जोगाउँदै, यतै रमाउँदै भारतीय मूल प्रवाहमा समाहित भइसकेको देख्न सकिन्छ।

    नेपाली र गोर्खाली पदचापले ओपप्रोत मसुरीले १२४ वर्षअघि नेपालबाट अर्को गन्यमान्य पाहुना पाएछ।

    mussoorie-pic-by-Surendra-P6-1753352483.jpg
    मसुरीमा रहेको शमशेर दरबार/ फेयरलन प्यालेस/ नेपाल हाउस। तस्बिरः क्लोभ भिलाको फेसबुक

    सन् १९०१ मा आफ्ना भाइ चन्द्र शमशेरद्वारा सत्ताच्युत गरिएका राणा प्रधानमन्त्री देव शमशेर भौंतारिँदै मसुरीमै आइपुगेका रहेछन्।

    उनलाई त्यति बेलाका अंग्रेजले दार्जिलिङ वा कोलकातामा बस्न अनुमति दिएनछन् र भनेछन् — तिमीलाई दिल्लीको कनट प्लेस वा मसुरीमा मात्र बस्न अनुमति दिन सकिन्छ।

    आफ्नो छोटो कार्यकालमा देव शमशेरले केही सुधारका काम गरेका थिए — दास प्रथाको अन्य, नेपालको पहिलो अखबार गोरखापत्र र नेपालको पहिलो महिला क्याम्पस पद्म कन्याको स्थापना।

    तर मात्र १४४ दिन प्रधानमन्त्री बनेपछि उनले रातारात पदत्याग गर्नुपरेको थियो।

    त्यसपछि अंग्रेजको अनुमति शिरोपर गर्दै मसुरी पुगेका उनले त्यहीँ आफ्नो नयाँ जीवनको सुरूआत गरेका रहेछन्।

    मसुरीको झरिपानी नजिकै चुनले पोतेको फेयरलन प्यालेस नाम दिइएको उनको दरबारको भग्नावशेष अझै पनि झरिपानी रेल–वे स्कुल नजिकै देख्न सकिन्छ। त्यसलाई स्थानीयवासीहरू ‘नेपाल हाउस’ पनि भन्दा रहेछन्।



    bethanchowk bethanchowk    
  • २०८२ श्रावण ९, शुक्रबार ०६:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP