धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटो र सहज बनाउन प्रयास गरिने बताउनुभएको छ । उहाँले शान्ति सुरक्षा र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो । आफू काभ्रेमा आएको ६ महिना मात्रै भएको अवस्थामा पनि धेरै विषयहरुमा सुधार गरिएको उहाँको दाबी छ । तथ्यांक अनुसार जिल्लामा यस वर्ष २० जनाले आमाको नामबाट नागरिकता लिएका छन् । वैशाखमा एक जनाले यस्तो नागरिकता लिएका कार्यालयले जनाएको छ । यसैगरि नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपी बनाउनेको संख्या यसवर्ष पनि बढी देखिएको छ । गतवर्ष पनि यो संख्या उच्च नै थियो ।कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ६ हजार ५०२ नयाँ नागरिकता जारी गरिएको छ । जसमा साउन महिनामा ८४४ नागरिकता जारी भएका छन् । भदौमा ५३८, असोजमा ४६२, कात्तिकमा ६८६, मंसिरमा ९२९, पुसमा ४२८ वटा, माघमा ८६४ वटा, फागुनमा ४०१, चैतमा ५१८ र वैशाखमा ८३२ वटा नागरिकता जारी भएको छ । यही अवधिमा नागरिकताको प्रतिलिपी लिनेको संख्या ९ हजार ११ छ । साउनमा १ हजार १७४, भदौमा १ हजार ४२, असोजमा ५४४, कात्तिकमा ८५६, मंसिरमा ९३६, पुसमा ९७२ वटा, माघमा ९७९, फागुनमा ६४१ वटा, चैतमा ९०१ र वैशाखमा ९६६ वटा नागरिकताका प्रतिलिपी जारी भएका छन् ।
पुरानो हस्तलिखित नागरिकता खुइलिने र बिग्रने गरेका र सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यसका लागि आउनेहरु बढ्दै गएका कारण कतिपय पुरानो नागरिकतामा त्रुटीहरु फेला परेका छन् । जसले गर्दा पछिल्ला केही महिनायता नागरिकताको प्रतिलिपी लिनेहरु बढेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । पहिले गाउँमा टोली गएर बनाएका नागरिकतामा कतै उमेर, कतै थर र कतै नामै गल्तीहरु पाइएका छन् । यी गल्तीहरु सुधार गर्नुपर्दा प्रतिलिपी लिनेहरुको संख्या बढेको हो ।गत साउनदेखि वैशाखसम्मको अवधिमा नागरिकता परित्याग गर्नेको संख्या ३९ रहेको छ भने सोही अवधिमा गैरआवासीय नागरिकता २८ वटा जारी भएको छ । ७ वटा नागरिकता रद्द र ६ वटा अंगिकृत नागरिकता जारी गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्षको वैशाखसम्ममा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिनेको संख्या २३ हजार ९७० रहेको छ । साउन महिनामा मात्र यो संख्या ३ हजार ४५३ रहेको थियो । भदौमा २ हजार ८९७, असोजमा १ हजार ९६२ जनाले आवेदन दिएका थिए भने कात्तिकमा २ हजार २९२ जनाले आवेदन दिएका थिए । मंसिरमा २ हजार ७८९ जना, पुसमा २ हजार २४८, माघमा २ हजार ५८३, फागुनमा १ हजार ४५९ जना, चैतमा २ हजार १२३ जना र वैशाखमा २ हजार १६४ जनाले आवेदन दिएका थिए । यही अवधिमा ६ हजार ९३ वटा कार्ड वितरण भएका छन् । दलित र जनजाती परिचयपत्र ३६९ वटा जारी भएका छन् । यस्तै १० हजार ७९५ वटा राहदानीको आवेदन दर्ता भएको प्रशासनमा १० हजार ६०७ कार्ड वितरण भएको छ । ६ महिनामा नाबालक परिचयपत्र ५१७ वटा जारी भएको प्रशासन कार्यालयले जनाएको छ । यसैगरि ९२ वटा मुद्दा दर्ता भएका छन् भने ६६ वटा फस्र्याैट भएका छन् । यस्तै ठाडो उजुरी १७४ वटा दर्ता हुँदा १६४ वटा फस्र्याैट भएका छन् । कार्यालयमा यसवर्ष १९ वटा नयाँ संघसंस्था दर्ता भएका छन्, १८२ वटा नवीकरण भएका छन् भने ५ वटा हातहतियार नवीकरण भएका छन् ।यसैगरि कार्यालयबाट कारागार निरिक्षण ५ पटक, सरकारी कार्यालय अनुगमन ३० पटक, प्रहरीलगायत सुरक्षा निकायको अनुगमन ३३ पटक, विकास आयोजना अनुगमन २० पटक र संघसंस्था अनुगमन ४५ पटक गरिएको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसबीचमा जिल्ला सुरक्षा समितिको बैठक ५३ पटक बसेको छ भने जिल्ला विपद् व्यवस्थापनसँग सम्बन्धित बैठक ८ पटक बसेको छ । कार्यालयले शहीद परिवार, द्वन्द्व पीडित परिवार र वैदेशिक रोजगार पीडित परिवारलाई ७५ लाख ५० हजार ८३ रुपैयाँ राहत वितरण गरेको छ । विपदमा परेकाहरुका लागि अहिलेसम्म कुनै पनि राहत वितरण गरिएको छैन । यो समय अवधिमा कार्यालयले कूल ५ करोड ६८ लाख ५६ हजार १८९ रुपैंयाँ राजश्व संकलन गरेको छ । चालु खर्च २ करोड ४५ लाख ९२ हजार ८४३, पूँजीगत खर्च १० लाख ७४ हजार ११६ र विविध खर्च ४ करोड ६४ लाख ९ हजार ३५१ रुपैयाँ भएको छ । धरौटी विवरणबाट आम्दानी ३ करोड ५२ लाख ४७ हजार ७३३ प्राप्त भएको छ । धरौटी फिर्ताबापत ३३ लाख ३३ हजार २१२ दिइएको छ । विशिष्ठ व्यक्तिको भ्रमण ३१० पटक भएको छ ।यसैगरि जिल्लाभर ६०७ वटा आपराधिक घटना भएका छन् । यस्ता घटनामा संलग्न ५३१ जना पक्राउ परेका छन् । जसमा ३ जनाको हत्या हुँदा ७३ वटा आत्महत्याका घटना भएका छन् भने प्राकृतिक प्रकोपका घटना २० वटा भएका छन् । जसमा ११ जनाको मृत्यु भएको र ७ जना घाइते भएको कार्यालयले उल्लेख गरेको छ । सवारी दुर्घटनामा १३ जनाको मृत्यु र २१५ जना घाइते भएका छन् । यसैगरि २४१ वटा पसल र फर्मको अनुमगन भएको र ६ वटालाई जरिवाना र कारबाही गरिएको छ । जरिवानाबापत ४१ हजार संकलन भएको छ । ५९ वटा फर्म र पसलबाट सामान जफत गरिएको र जसको मूल्य २ लाख ४० हजार ८८७ रहेको पनि कार्यालयले जनाएको छ । यस अवधिमा कार्यालयले ११ वटा ड्रोन उडान अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई थप व्यवस्थित गर्न गत वर्ष जेठ २७ गतेबाट डिजिटल टोकन प्रणाली शुरु गरेको छ ।
प्रतिक्रिया