logo
  • २०८३ जेष्ठ ११ | Mon, 25 May 2026
  • Dark Mode

          Subscribe

    पनौती र चौंरीदेउराली एकै दिन पूर्णखोप सुनिश्चित

    • bethanchok bethanchok
    • २०८३ जेष्ठ ९, शनिबार १६:१६
    पनौती र चौंरीदेउराली एकै दिन पूर्णखोप सुनिश्चित

    पनौती । पनौती नगरपालिका र चौंरीदेउराली गाउँपालिकालाई एकै दिन यस आर्थिक वर्षका लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । बुधबार पनौतीका प्रमुख एवं पालिकास्तरीय खोप समितिका संयोजक रामशरण भण्डारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक दिपक गौतमको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी पनौती नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

    कार्यक्रममा गौतमले पूर्णखोप सुनिश्चित गर्ने कार्य अन्त्य नभइ शुरुवात भएको बताउनुभयो । उहाँले रोगहरुलाई न्यूनिकरणका लागि बालबालिकालाई पूर्ण खोप लगाउन जरुरी रहेकोमा जोड दिँदै विगत केही वर्षयता नागरिकले आफ्नो र बालबालिकाको स्वास्थ्यमा धेरै ध्यान दिइरहेको उल्लेख गर्नुभयो । खोप लगाउने कार्यलाई सामान्य नठान्न आग्रह गर्दै उहाँले यसलाई निरन्तरता दिने गरि काम गर्न सम्बन्धित पक्ष र स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्नुभयो ।कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपतिले जिल्लाका पालिका मध्ये पनौती सातौं पूर्णखोप पालिका भएको बताउँदै सबै सूचकहरु पूरा गरेर केही हप्ताभित्रै जिल्लाका सबै १३ वटै पालिकालाई यस अभियानमा अटाइने बताउनुभयो । उहाँले खोपको गुणस्तर बचाउनका लागि वातानुकुलित खोप केन्द्र बनाउनु पर्ने र यसमा पालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नगरप्रमुख रामशरण भण्डारीले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर नगरपालिका अघि बढिरहेको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख गीता बञ्जाराले कुनै पनि बालबालिका खोप पाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यसहित नगरपालिका निरन्तर सक्रिय रहेको बताउनुभयो । यसवर्ष नगरभित्र रहेका १६ देखि २३ महिनासम्मका ५ सय ८४ बालबालिकालाई पूर्णखोप सुनिश्चित गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यो पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिकामध्ये जिल्लामै सातौं नम्बरमा परेको छ ।यसवर्ष नमोबुद्ध नगरपालिका पहिलो भयो भने मण्डनदेउपुर नगरपालिका दोस्रो, भुम्लु गाउँपालिका तेस्रो र पाँचखाल नगरपालिका चौथो पालिका भएका छन् । यस्तै तेमाल गाउँपालिका पाँचौं, रोशी छैठौं, पनौती सातौं र चौंरीदेउराली आठौं पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकामा परेका छन् ।



    bethanchok bethanchok    
  • २०८३ जेष्ठ ९, शनिबार १६:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP