– कमल नेपाल
विगत २०८१ साल भदौ १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण बेथानचोक गाउँपालिका ठूलो प्राकृतिक विपत्तिबाट गुज्रिनुप¥यो। लगातारको वर्षा संगै आएको बाढि र पहिरोका कारण दर्जन भन्दा धेरैले ज्यान गुमाउनु प¥यो , जमिन थिलथिलो बनायो, पहिरोको जोखिम बढायो, खोला खोल्सी उर्लिए, सडकहरू क्षतिग्रस्त भए, खानेपानीका मुहान, पाइपलाइन तथा संरचनामा असर पुग्यो र पदमार्गहरू विभिन्न ठाउँमा बिग्रिए । यसबाट स्थानीय बासिन्दा, कृषक, विद्यार्थी, बिरामी, दैनिक आवतजावत गर्ने नागरिक मात्र होइन, यस क्षेत्रमा प्रकृति, हाइकिङ, क्याम्पिङ, धार्मिक तथा साहसिक पर्यटनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकहरू समेत प्रत्यक्ष प्रभावित भएका छन् ।
बेथानचोक गाउँपालिका प्राकृतिक सौन्दर्य, कृषि उत्पादन, धार्मिक स्थल, पदयात्रा, हिमाल दृश्य, बादलको समुद्र, सनराइज–सनसेट, नाइट सिटी भ्यु र ग्रामीण आतिथ्यका कारण पछिल्लो समय पर्यटनको उदीयमान गन्तव्यका रूपमा चिनिन थालेको छ । विशेषगरी बेथानचोक नारायणस्थान, गजराम पर्वत, महाभारत क्षेत्र, ढुंखर्क, च्याम्राङबेसी लगायतका क्षेत्रहरूमा घुम्न आउने मानिसहरूको संख्या क्रमशः बढिरहेको छ । तर यस्ता सम्भावनायुक्त क्षेत्रमा आधारभूत पूर्वाधार नै कमजोर हुँदा पर्यटन, कृषि र स्थानीय जीवनयापन सबै प्रभावित हुने अवस्था सिर्जना भएको छ ।
अविरल वर्षाले सबैभन्दा बढी असर पु¥याएको क्षेत्रमध्ये खानेपानी पहिलो हो । पहिरो र बाढीका कारण मुहान पुरिनु, पाइपलाइन बग्नु, ट्याङ्कीमा क्षति पुग्नु, बर्षामा पानी धमिलो हुनु र वितरण प्रणाली अवरुद्ध हुनु गम्भीर समस्या हो । ग्रामीण क्षेत्रमा खानेपानी केवल घरायसी प्रयोगका लागि मात्र होइन, पशुपालन, सरसफाइ, साना होटल, होमस्टे, चिया पसल, विद्यालय र सार्वजनिक स्थलका लागि पनि अत्यावश्यक हुन्छ । खानेपानी अवरुद्ध हुँदा स्थानीय जनजीवन नै कष्टकर बन्न पुग्छ । पर्यटक आउने क्षेत्रमा खानेपानीको समस्या भयो भने त्यसले सिधै पर्यटनको छविमा नकारात्मक असर पार्छ । त्यसैले खानेपानी संरचनाको मर्मत, वैकल्पिक मुहानको पहिचान, पाइपलाइन संरक्षण, पानी शुद्धीकरण र दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकतामा राखिनुपर्छ ।
दोस्रो ठूलो समस्या सडक हो । बेथानचोकका धेरै सडक पहाडी भूगोल, कच्ची संरचना, कमजोर नाली, अपर्याप्त वाल र नियमित मर्मतको अभावका कारण वर्षायाममा जोखिमपूर्ण हुने गरेका छन् । वर्षायाममा कतिपय सडकमा पहिरो, खाल्डाखुल्डी, कटान, हिलो, चिप्लो सहित ढुंगा झर्ने जोखिम र सवारी आवतजावतमा कठिनाइ देखिएको छ । यसले कृषकहरूलाई आफ्नो उत्पादन बजारसम्म सहजै पु¥याउन समस्या पारेको छ । तरकारी, दूध, आलु, मकै जस्ता स्थानीय उत्पादन तथा पशुपालनसँग सम्बन्धित सामान समयमा बजार नपुग्दा किसानहरू आर्थिक मारमा परेका छन् । सडक बिग्रिँदा बिरामीलाई स्वास्थ्य चौकी वा अस्पताल पु¥याउन कठिन हुन्छ, विद्यार्थीको पठनपाठन प्रभावित हुन्छ र दैनिक जीवन अस्तव्यस्त हुन्छ ।
सडकको समस्या पर्यटनसँग पनि प्रत्यक्ष जोडिएको छ । पर्यटक कुनै ठाउँमा पहिलोपटक आउँदा बाटोको अवस्था, सुरक्षा, संकेत बोर्ड, पार्किङ, यातायात सुविधा र सहज पहुँचलाई गम्भीर रूपमा हेर्छन् । एकपटक नराम्रो अनुभव लिएर फर्किएको पर्यटकले अरूलाई पनि नआउन सुझाव दिन सक्छ । आजको समयमा एक जनाको अनुभव सामाजिक सञ्जाल, लगाएतका अन्य डिजिटल माध्यम मार्फत हजारौं मानिससम्म पुग्न सक्छ । त्यसैले सडक बिग्रिनु केवल स्थानीय असुविधा मात्र होइन, सिंगो बेथानचोकको पर्यटन भविष्यमा पर्ने क्षति हो ।
तेस्रो र संवेदनशील विषय पदमार्ग हो । बेथानचोकको पहिचान अब केवल गाउँ वा कृषि क्षेत्रमा सीमित छैन; यो पदयात्रा, हाइकिङ, क्याम्पिङ, प्राकृतिक दृश्यावलोकन र ग्रामीण पर्यटनसँग जोडिन थालेको छ । तर पदमार्गहरू भत्किनु, चिप्लो हुनु, खोल्सा पार गर्ने ठाउँ बिग्रिनु, ढुंगा खस्नु, बाटो हराउनु, झाडीले बाटो ढाक्नु, रेलिङ, सिँढी, सूचना बोर्ड र विश्रामस्थल नहुनु पर्यटकका लागि ठूलो समस्या हो । विशेषगरी वर्षापछि थिलथिलो जमिनमा हिँड्दा चिप्लिने, लड्ने, बाटो भुल्ने र दुर्घटना हुने जोखिम बढ्छ । केही कम रकममा मर्मत गर्न सकिने पदमार्गहरू पनि समयमै नबनाउँदा पर्यटकहरूले अनावश्यक सास्ती भोग्नुपरेको छ ।
पदमार्ग केवल पर्यटकका लागि मात्र होइन, स्थानीय कृषक, गोठाला, घाँस–दाउरा गर्ने मानिस, विद्यालय जाने बालबालिका र दैनिक आवतजावत गर्ने बासिन्दाका लागि पनि जीवनरेखा हो । धेरै ठाउँमा सडक नपुगेको वा वर्षायाममा सवारी नचल्ने अवस्थामा पदमार्ग नै मुख्य विकल्प हुन्छ । त्यसैले पदमार्ग मर्मतलाई विलासिताको काम होइन, आधारभूत पूर्वाधारको रूपमा हेर्नुपर्छ । छोटो दूरीका तर अत्यन्त आवश्यक बाटाहरूमा ढुंगा बिछ्याउने, सिँढी बनाउने, पानी कटाउने नाली बनाउने, खोल्सामा साना काठे वा फलामे पुल राख्ने, जोखिम क्षेत्रमा रेलिङ राख्ने, दिशा संकेत बोर्ड राख्ने र नियमित सरसफाइ गर्ने काम तत्काल गर्न सकिन्छ।
यस विषयमा स्थानीय तहको भूमिका सबैभन्दा नजिक र जिम्मेवार हुन्छ । बेथानचोक गाउँपालिकाले क्षतिको वास्तविक विवरण संकलन गरी प्राथमिकता निर्धारण गर्नुपर्छ । कुन खानेपानी योजना बिग्रिएको छ, कुन सडक तत्काल खोल्नुपर्ने हो, कुन पदमार्ग जोखिमपूर्ण छ, कुन ठाउँमा कृषकहरू सबैभन्दा बढी प्रभावित छन्, कुन पर्यटन रुटमा पर्यटकले सास्ती भोगिरहेका छन् भन्ने विषयमा वडा स्तरबाटै तथ्यांक तयार गर्नुपर्छ । जनप्रतिनिधि, प्राविधिक, स्थानीय उपभोक्ता, पर्यटन व्यवसायी, कृषक र स्थानीय अगुवाहरूलाई सहभागी गराएर तत्काल मर्मत कार्ययोजना बनाउन आवश्यक छ ।
बागमती प्रदेश सरकारको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । बेथानचोक जस्तो कृषि र पर्यटन दुवै सम्भावना बोकेको पहाडी गाउँपालिकामा प्रदेश सरकारले विशेष पुनर्निर्माण प्याकेज ल्याउनुपर्छ । ग्रामीण सडक स्तरोन्नति, पहिरो नियन्त्रण, खानेपानी पुनस्र्थापना, पदमार्ग निर्माण, पर्यटन संकेत बोर्ड, भ्यु प्वाइन्ट सुधार, होमस्टे प्रवद्र्धन, आपतकालीन उद्धार तयारी र वातावरणमैत्री पूर्वाधारमा प्रदेशको लगानी आवश्यक छ । प्रदेश सरकारले केवल ठूला योजनालाई मात्र प्राथमिकता दिने होइन, स्थानीय जीवन र पर्यटनमा प्रत्यक्ष असर पार्ने साना तर प्रभावकारी योजनालाई पनि बजेट विनियोजन गर्नुपर्छ ।
संघीय सरकारको ध्यान पनि यस क्षेत्रमा जान आवश्यक छ । बेथानचोक राजधानी काठमाडौँबाट धेरै टाढा नभए पनि विकास र पर्यटन पूर्वाधारका हिसाबले अझै पर्याप्त ध्यान नपाएको क्षेत्र हो । संघीय सरकारले विपद् पछिको पुनर्निर्माण, पहाडी सडक सुरक्षा, खानेपानी संरचना संरक्षण, ग्रामीण पर्यटन पूर्वाधार, पदमार्ग विकास र जलवायु अनुकूलन कार्यक्रममार्फत बेथानचोकलाई सहयोग गर्नुपर्छ । जलवायु परिवर्तनका कारण अब यस्ता अतिवृष्टि, पहिरो, भूक्षय र बाढीका घटना बढ्न सक्ने देखिन्छ । त्यसैले आजको मर्मत मात्र होइन, भोलिको जोखिम घटाउने दीर्घकालीन योजना आवश्यक छ ।
बेथानचोकका स्थानीय कृषकहरू यस क्षेत्रका मेरुदण्ड हुन् । उनीहरूको उत्पादन, मेहनत र जीवनशैलीले गाउँलाई जोगाइरहेको छ । यदि सडक बिग्रियो भने उनीहरूको उत्पादन बजारसम्म पुग्दैन । यदि खानेपानी बिग्रियो भने खेतबारी, पशुपालन र घरपरिवार सबै प्रभावित हुन्छ । यदि पदमार्ग बिग्रियो भने दैनिक श्रम र आवतजावत कठिन हुन्छ । त्यसैले विपद् पछिको पुनर्निर्माणलाई किसानमैत्री बनाउनुपर्छ । कृषि सडक, सिँचाइ, संकलन केन्द्र, ढुवानी सुविधा र बजार पहुँचलाई पुनस्र्थापनासँग जोड्नुपर्छ ।
त्यस्तै पर्यटन व्यवसायी, होटल होमस्टे सञ्चालक, गाइड, होटल, पसल र स्थानीय सेवाप्रदायकहरू पनि यसबाट प्रभावित छन् । पर्यटक आउनु भनेको केवल एक होटलको आम्दानी होइन; त्यसले स्थानीय उत्पादनहरु, गाइड सेवा, यातायात, हस्तकलाहरुको बजार बढाउँछ । तर पर्यटकले बाटोमा सास्ती पायो, पानी पाएन, सुरक्षित पदमार्ग पाएन भने यो सम्भावना कमजोर हुन्छ । त्यसैले पर्यटनलाई बेथानचोकको अर्को जीवित र प्रचुर सम्भावनाका रूपमा स्वीकार गर्दै पूर्वाधार सुधारमा गम्भीर ध्यान दिनुपर्छ ।
अहिले आवश्यक कुरा भाषण होइन, कार्यान्वयन हो । स्थानीय तहले तत्काल क्षति मूल्यांकन र प्राथमिकता सूची सार्वजनिक गरोस् । प्रदेश सरकारले बजेट र प्राविधिक सहयोग उपलब्ध गराओस् । संघीय सरकारले विपद् पुनर्निर्माण तथा पर्यटन पूर्वाधार योजनामा बेथानचोकलाई समावेश गरोस् । स्थानीय समुदाय, उपभोक्ता र पर्यटन व्यवसायीहरू पनि पारदर्शी र जिम्मेवार ढंगले काममा सहभागी हुन तयार हुनुपर्छ ।
अन्त्यमा, भदौ १०, ११ र १२ गतेको अविरल वर्षाले बेथानचोकलाई दिएको घाउ केवल प्राकृतिक विपत्तिको घटना होइन, यसले हाम्रो पूर्वाधारको कमजोरी पनि देखाइदिएको छ । अब यसलाई अवसरका रूपमा लिनुपर्छ । खानेपानी सुरक्षित बनाउने, सडक दिगो बनाउने, पदमार्ग पर्यटकमैत्री बनाउने र बेथानचोकलाई सुरक्षित, सुन्दर र पहुँचयोग्य गन्तव्यका रूपमा विकास गर्ने समय यही हो । स्थानीय तह, बागमती प्रदेश सरकार र संघीय सरकारको साझा ध्यान, समन्वय र लगानी भए बेथानचोक पुनः उठ्न सक्छ — अझ बलियो, अझ सुन्दर र अझ सम्भावनायुक्त भएर ।
(लेखक माउण्ट महाभारत होमस्टे, रिट्रिट एण्ड फार्म बेथानचोकका सञ्चालक हुन । )
प्रतिक्रिया