पाँचखाल । पाँचखाल नगरपालिकाले कृषि हाटबजार सञ्चालन गर्ने भएको छ । भोलीदेखि हरेक शुक्रबार र शनिबार हाटबजार सञ्चालन हुने भएको हो । पाँचखाल नगरपालिकाको आयोजना, कृषि बजार सञ्चालक तथा व्यवस्थापन समिति पाँचखालको सहआयोजना र पाँचखाल नगरपालिका वडानम्बर ४ को समन्वयमा हाटबजार सञ्चालन हुने भएको हो । कृषि उपज संकलन तथा बजार केन्द्र रहेको बोहोरेदोभान जाने बाटोमा बजार सञ्चालन हुनेछ । कृषि हाटबजारमा किसानले आफ्ना उत्पादनहरु सोझै उपभोक्तालाई बेच्न सक्नेछन् । यसबाट विचौलियाको समस्या हुँदैन भने उपभोक्ताले पनि सस्तोमा तरकारी लगायत कृषि उत्पादन खरिद गर्न पाउने अपेक्षा गरिएको छ । यसअघि काभ्रेकै बनेपामा विगत २ वर्षदेखि हरेक शुक्रबार हाटबजार सञ्चालनमा छ भने मण्डनदेउपुरको नगरकोटमा पनि यस्तो बजार सञ्चालनमा आएको छ । पाँचखालमा भने पहिलो पटक हाटबजार सञ्चालनमा आउने भएपछि किसानहरु उत्साहित भएका छन् ।
प्रतिक्रिया