नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा रूपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनबारे पनि कुराकानी भएको छ।
शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा कात्तिक १७ गते हुन लागेको उपनिर्वाचन र त्यहाँ पार्टीको अवस्थाबारे केन्द्रित रहेर कुराकानी भएको हो।
‘जिल्ला सभापति रामकृष्ण खाण, लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुन, केन्द्रीय सदस्य बालकृष्ण खाणले रूपन्देही ३ को अहिलेको वस्तुगत स्थितिबारे ब्रिफिङ गर्नुभयो,’ केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘पार्टीभित्र सम्पूर्ण रूपले एकताका साथ जाने कुरा भएको छ।’
रूपन्देही ३ मा पार्टीको अवस्था राम्रो रहेको र एकढिक्का भएर होमिए चुनाव जित्न सकिने ब्रिफिङ उनीहरूको थियो।
उनले अहिले नै उम्मेदवारको विषयमा चर्चा नभएको बताए।
केही दिनअघि सभापति देउवालाई भेट्न पुगेका देउवानिकट ५ जना पूर्वपदाधिकारीले रूपन्देही ३ को उपनिर्वाचन प्रसंगमा बालकृष्ण खाण वा अरू कुनै उम्मेदवार तय गरेर जित्ने गरी तयारी गर्न सभापति देउवालाई सुझाव दिएका थिए।
२०७९ को चुनावमा कांग्रेसबाट उम्मेदवार रहेका खाण राप्रपा उम्मेदवार दीपक गिरीसँग पराजित भएका थिए। गिरीको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।
कांग्रेसले रूपन्देही ३ मा कसलाई उम्मेदवार बनाउने भन्ने सन्दर्भमा पार्टीका तल्ला समितिबाट आकांक्षीको नामसमेत मागिसकेको छैन। खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको र उनीविरूद्ध मुद्दा नटुंगिएकोले उनलाई उम्मेदवार बनाउन नहुने पक्षमा पनि कांग्रेसका केही नेताहरू छन्।
तर खाणले भने उपनिर्वाचनबाट राजनीतिमा पुनरागमन गर्न खोजेका छन्।
२०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा रूपन्देही–३ मा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो थियो। उसले २० हजार २७९ मत प्राप्त गरेको थियो।
दोस्रो स्थानको एमालेले १६ हजार ९८६ मत प्राप्त गरेको थियो।
तेस्रो मत ल्याएको रास्वपाले १४ हजार १५४ मत ल्याएको थियो।
राप्रपाले ९ हजार १५४ मत ल्याएको थियो।
नाउपाले ६ हजार १०, जनता समाजवादी पार्टी नेपालले ५ हजार २९१, लोसपाले ५ हजार ५३, जनमतले ३ हजार ६३२ र माओवादी केन्द्रले २ हजार ६३७ मत ल्याएको थियो।
प्रतिक्रिया