logo
  • २०८३ बैशाख १८ | Fri, 01 May 2026
  • Dark Mode

          Subscribe

    विज्ञापनसम्बन्धी निर्णयप्रति पत्रकार महासंघको कडा आपत्ति

    • bethanchok bethanchok
    • २०८३ बैशाख ११, शुक्रबार १५:३६
    विज्ञापनसम्बन्धी निर्णयप्रति पत्रकार महासंघको कडा आपत्ति

    बनेपा । नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोक शाखाले सरकारले हालै लिएको विज्ञापनसम्बन्धी निर्णयप्रति कडा आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेको छ । महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्णयले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि गम्भीर विभेद सिर्जना गरेको ठहर गरेको हो । महासंघका अनुसार नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेको छ । यस्तो अवस्थामा पत्रकारहरूले नियमित पारिश्रमिक र सेवा–सुविधा नपाउनु सामान्य बन्दै गएको उल्लेख गर्दै यसले सञ्चार संस्थाको दिगोपनमै असर पारिरहेको जनाएको छ । ज्ञापनपत्रमा सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था गर्नु प्रेस स्वतन्त्रताको मर्मविपरीत भएको उल्लेख छ। महासंघले यस्तो नीतिले सञ्चार क्षेत्रको ठूलो हिस्सा ओझेलमा पर्ने र अभिव्यक्ति स्वतन्त्रतामा समेत नकारात्मक असर पार्ने चेतावनी दिएको छ ।
    साथै, संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिताको अभ्यासलाई व्यवहारमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरिएको छ। पत्रकारहरूको पेशागत सुरक्षा, नियमित पारिश्रमिक सुनिश्चितता र समान व्यवहारको ग्यारेन्टी गर्न पनि महासंघले जोड दिएको छ । यसअघि सम्बन्धित निकायमार्फत समस्या समाधानका लागि पहल भए पनि ठोस प्रगति नदेखिएको भन्दै महासंघ, काभ्रे शाखाले असन्तुष्टि जनाएको छ । माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिँदै महासंघले सरकारलाई तत्काल सकारात्मक कदम चाल्न आग्रह गरेको छ ।



    bethanchok bethanchok    
  • २०८३ बैशाख ११, शुक्रबार १५:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP