logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    बर्ड फ्लू रोक्न चेकजाँच कडा पार्न ध्यानाकर्षण

    • bethanchok bethanchok
    • २०८२ चैत्र १८, बुधबार ०८:३०
    बर्ड फ्लू रोक्न चेकजाँच कडा पार्न ध्यानाकर्षण

    संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने सहमति

    धुलिखेल । बर्डफ्लु रोकथामका लागि चेकजाँच कडा बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । धुलिखेलमा आयोजित छलफलका सहभागीहरुले चेकजाँच र निगरानी बढाउन सके काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु भित्रने सम्भावना न्यून हुने बताएका हुन । छलफल पछि काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय भएको छ । काठमाडौं तथा देशका अन्य केही स्थानमा पालिएका कुखुरामा संक्रमण देखिएपछि यी जिल्लामा पनि जोखिम हुन सक्ने अनुमानका आधारमा सुरक्षा उपाय कडा पार्न लागिएको हो । सीमा नाकामा निगरानी कडा बनाउने र कुखुरा तथा अन्य पंक्षी पालिने फार्महरूको नियमित निरीक्षण गर्ने निर्णय गरिएको छ । विशेषगरी तराई क्षेत्रबाट काभ्रे प्रवेश गर्ने मुख्य नाका मंगलटारमा कडाइका साथ चेकजाँच गरिनेछ। साथै साँगा, नाला लगायत काठमाडौं उपत्यकाबाट काभ्रे र सिन्धुपाल्चोक जाने नाकाहरूमा पनि निगरानी बढाइने भएको छ । यससँगै बर्डफ्लु रोगको जोखिम र त्यसका असरबारे जनचेतना फैलाउने कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय पनि गरिएको छ। जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमका अनुसार परीक्षण नगरिएका कुखुरा तथा पंक्षीहरू जिल्लामा भित्रने गरेको पाइएको छ । केही अवस्थामा भेटेरिनरी परीक्षणका कागज देखाइए पनि वास्तविक परीक्षण नहुने गरेको उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मंगलटार नाकामा कडाइका साथ जाँच आवश्यक रहेको उल्लेख गर्दै त्यहाँ प्राविधिक जनशक्ति राख्न सके निगरानी अझ प्रभावकारी हुने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले पूर्वी क्षेत्रबाट आउने कुखुराको नमुना तत्काल परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राख्नुभयो । आवश्यक निगरानी र चेकजाँचमा प्रहरी प्रशासन पूर्ण रूपमा तयार रहेको उहाँको भनाइ छ । पोल्ट्री व्यवसायीहरूले सीमा नाकाहरूमा क्वारेन्टाइन व्यवस्था सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा पशुसेवा कार्यालय काभ्रेका प्रमुख बज्रकिशोर ठाकुरले बर्डफ्लु रोगको प्रकृति, यसको प्रभाव तथा रोकथामका उपायबारे जानकारी गराउँदै रोग प्रवेश हुन नदिन कार्यालयले गरिरहेको तयारीबारे प्रकाश पार्नुभयो ।



    bethanchok bethanchok    
  • २०८२ चैत्र १८, बुधबार ०८:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP