– कमल नेपाल
काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी भेग प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक समृद्धिको अनुपम संगमका रूपमा परिचित छ । महाभारत पर्वत श्रृंखलाको अग्लो स्थानमध्ये एक—बेथानचोक नारायणस्थान—गजराम पर्वतमा अवस्थित यस क्षेत्रले प्रकृति र आध्यात्मिकताको अद्वितीय संयोजन प्रस्तुत गर्दछ । हरियाली डाँडाकाँडा, स्वच्छ हावा, शान्त वातावरण र मनमोहक दृश्यहरुले भरिपूर्ण यो क्षेत्र केवल पर्यटकका लागि मात्र होइन, आध्यात्मिक शान्ति खोज्नेहरूका लागि पनि उत्तिकै महत्वपूर्ण गन्तव्य बनेको छ ।
यही पवित्र भूमिको काखमा रहेको ढुंखर्कस्थित श्रीकृष्ण प्रणामी मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थलका रूपमा स्थापित हुँदै आएको छ । यस मन्दिरसँग जोडिएको इतिहासले यहाँको धार्मिक जागरणको यात्रा स्पष्ट पार्छ । वि.सं. १९५३ मा परमसन्त श्री १०८ युगलदासजी महाराजको जन्मसँगै यस क्षेत्रमा श्रीकृष्ण प्रणामी धर्मको प्रचार–प्रसार आरम्भ भएको मानिन्छ । त्यसपछि विभिन्न धर्मप्रचारक गुरुज्यूहरू तथा स्थानीय भक्तजनहरूको अथक प्रयासले यहाँ धार्मिक चेतनाको विस्तार हुँदै गयो ।
समयक्रमसँगै धार्मिक गतिविधिहरूलाई संस्थागत रूप दिन मन्दिर निर्माणको आवश्यकता महसुस गरियो । भक्तजनहरूको सहयोग र समर्पणबाट जग्गा खरिद गरी वि.सं. २०६३ मा मन्दिरको शिलान्यास गरिएको थियो । आज सोही प्रयासको फलस्वरूप यहाँ आकर्षक मन्दिर, सभाहल तथा अन्य संरचनाहरू निर्माण भइसकेका छन्, जहाँ नियमित पूजा, सत्संग तथा विविध धार्मिक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । यसले ढुंखर्कलाई एक महत्वपूर्ण आध्यात्मिक केन्द्रको रूपमा स्थापित गरेको छ ।
यही ऐतिहासिक तथा आध्यात्मिक परम्परालाई अझ सशक्त बनाउने उद्देश्यले २०८२ साल चैत २७ गतेदेखि २०८३ साल वैशाख ३ गतेसम्म “श्रीमद् तारतम सागर १०८ पाठ पारायण”, “श्रीकृष्ण कथा ज्ञान महायज्ञ” तथा “श्रीकृष्ण प्रणामी धर्म जागरण महोत्सव” आयोजना हुन गइरहेको छ । यो महोत्सव केवल धार्मिक अनुष्ठान मात्र नभई समाजमा आध्यात्मिक चेतना, नैतिक मूल्य र सांस्कृतिक पहिचानको पुनर्जागरण गर्ने अभियानका रूपमा लिइएको छ ।
यस महोत्सवको विशेष आकर्षण भनेको प्रतिष्ठित धर्माचार्यहरूको सहभागिता हो । श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषित जगद्गुरु कृष्णमणिजी महाराजको पवित्र करकमलबाट मन्दिर समुद्घाटन तथा कलश अनावरण गरिने कार्यक्रमले यस आयोजनालाई अझ गरिमामय बनाउनेछ । साथै, उहाँकै मुखारविन्दबाट शुभआशीर्वचन प्राप्त हुने अवसर भक्तजनहरूका लागि अत्यन्त महत्वपूर्ण हुनेछ ।
त्यसैगरी धर्माचार्य अनन्तश्री विभूषित जगद्गुरु सूर्यनारायणदासजी महाराज, विभिन्न पीठाधीश तथा गादीपति महाराजहरू, नवतनधामका गादीपति बाबाजी श्री १०८ अमृतराजजी महाराजको संरक्षणमा कार्यक्रम सञ्चालन हुनेछ । प्रमुख कथाकारका रूपमा नवतन धामका महन्त स्वामी श्री १०८ पुरुषोत्तमजी महाराजको मुखारविन्दबाट प्रस्तुत हुने श्रीकृष्ण कथा ज्ञान महायज्ञले भक्तजनहरूलाई आध्यात्मिक ज्ञान र भक्ति भावमा डुबाउने विश्वास गरिएको छ ।
यस महोत्सवमा देश–विदेशबाट साधु, सन्त, महन्त, विद्वान, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, उद्यमी तथा सर्वसाधारण भक्तजनहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ । यस्तो विशाल जमघटले बेथानचोक क्षेत्रलाई केही दिनका लागि आध्यात्मिक ऊर्जा र सांस्कृतिक उत्साहले भरिपूर्ण बनाउनेछ ।
महोत्सवको अर्को महत्वपूर्ण पक्ष भनेको मन्दिरको विकास, संरक्षण तथा थप संरचना निर्माणका लागि आवश्यक स्रोत जुटाउनु हो । धार्मिक स्थलहरूको संरक्षण र विकासले मात्र ती स्थानहरू दीर्घकालसम्म जीवित रहन सक्छन् । यस दृष्टिले “श्रीकृष्ण प्रणामी धर्म जागरण महोत्सव” एक दीर्घकालीन सोचका साथ आयोजना गरिएको कार्यक्रम हो ।
धार्मिक महत्वका अतिरिक्त बेथानचोक क्षेत्र पर्यटकीय दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त क्षेत्र हो । यहाँ अवस्थित बेथानचोक नारायणस्थान, गजराम पर्वत, मुक्तेश्वर महादेव मन्दिर, क्षेत्रपाल थानी महाकाल मन्दिर, त्रिवेणी महादेव, कालिदेवी मन्दिर, शिव–पार्वती गुफा, लक्ष्मीनारायण मन्दिर, कपेर महाँकाल, भीमसेन मन्दिर तथा विभिन्न कुलदेवता मन्दिरहरू यस क्षेत्रका मुख्य आकर्षण हुन् । यी सबै स्थलहरूले धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेका छन् ।
त्यसैगरी सनातनीहरूको आस्थाको केन्द्रका रूपमा विकास भइरहेको वैष्णव पार्क निर्माणको चरणमा रहेको छ, जसले भविष्यमा यस क्षेत्रलाई अझ व्यवस्थित र आकर्षक धार्मिक पर्यटन गन्तव्य बनाउने अपेक्षा गरिएको छ । यदि यी सम्पदाहरूको उचित संरक्षण, प्रचार–प्रसार र व्यवस्थापन गर्न सकियो भने बेथानचोक केवल स्थानीय मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित धार्मिक–पर्यटकीय केन्द्र बन्न सक्छ ।
धार्मिक महोत्सवहरू पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण माध्यम बन्न सक्छन् । महोत्सवमा सहभागी हुन आउने श्रद्धालुहरूले यस क्षेत्रका अन्य पर्यटकीय स्थलहरूको पनि अवलोकन गर्ने हुँदा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ । होटल, होमस्टे, यातायात, कृषि उत्पादन तथा स्थानीय व्यवसायहरूमा वृद्धि हुने सम्भावना रहन्छ ।
यसका साथै यस्ता कार्यक्रमहरूले स्थानीय युवाहरूलाई रोजगारी तथा उद्यमशीलताका अवसरहरू सिर्जना गर्न प्रेरित गर्छन् । पर्यटन र धर्मलाई जोडेर विकास गर्ने अवधारणा आजको समयको आवश्यकता हो, जसले दिगो विकासलाई टेवा पु¥याउँछ ।
आध्यात्मिक दृष्टिले हेर्दा यस्ता महोत्सवहरूले मानिसलाई आत्मिक शान्ति, नैतिकता र जीवनको वास्तविक उद्देश्यतर्फ उन्मुख गराउँछन् । व्यस्त जीवनशैली र भौतिकतामा अल्झिएको वर्तमान समाजलाई यस्ता कार्यक्रमहरूले सन्तुलनमा ल्याउने काम गर्छन् । सामूहिक पूजा, कथा श्रवण र सत्संगले मानिसहरूबीच सकारात्मक ऊर्जा र आपसी सद्भाव बढाउँछ ।
अन्ततः, बेथानचोक नारायणस्थानको काखमा आयोजना हुन गइरहेको यो महोत्सव धार्मिक, सांस्कृतिक र पर्यटन विकासको एक महत्वपूर्ण अवसर हो। यसले न केवल धर्मप्रति आस्था बढाउनेछ, बल्कि क्षेत्रको समग्र विकासमा पनि टेवा पु¥याउनेछ ।
त्यसैले यस पवित्र अवसरमा सम्पूर्ण श्रद्धालु तथा आम नागरिकलाई बेथानचोक गाउँपालिका–ढुंखर्क पुगेर महोत्सवमा सहभागी भई आध्यात्मिक लाभ लिन, प्राकृतिक सौन्दर्यको आनन्द उठाउन तथा यस क्षेत्रको विकासमा हातेमालो गर्न हार्दिक आह्वान गरिन्छ ।
(लेखक माउण्ट महाभारत होमस्टे, रिट्रिट एण्ड फार्म बेथानचोकका सञ्चालक हुन ।)
प्रतिक्रिया