logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    किसान एउटै प्रश्न सोधिरहेका हुन्छन् “जब उत्पादन राम्रो हुन्छ, तब पनि किन हामी नै घाटामा पर्छौं?”

    • bethanchok bethanchok
    • २०८२ चैत्र २७, शुक्रबार ००:१९
    किसान एउटै प्रश्न सोधिरहेका हुन्छन् “जब उत्पादन राम्रो हुन्छ, तब पनि किन हामी नै घाटामा पर्छौं?”

    काभ्रेपलाञ्चोक । पाँचखाल, मण्डनदेउपुरका खेतबारी यतिबेला आलुले भरिएका छन् । गह्राभरि बोरा, सडक छेउमा थुप्रिएका आलुका चाङ—सबैले राम्रो उत्पादनको संकेत गर्छन् । तर यही दृश्यले किसानको अनुहारमा मुस्कान होइन, चिन्ता थपेको छ । पाँचखाल, मण्डनदेउपुरका किसान अहिले दिनरात आलु खन्न व्यस्त छन् । तर उनीहरूको सबैभन्दा ठूलो समस्या उत्पादन होइन—बजारको अभाव र गिरिरहेको मूल्य हो ।

    पाँचखाल–६ का किसान रामेश्वर सापकोटा भन्छन्, ‘आलु त राम्रो फल्यो, तर किन्ने मान्छे छैन । पहिले व्यापारी आफैँ खेतमा आउँथे, अहिले हामीले बोलाउनुपर्छ ।’ उनका अनुसार अहिले आलु प्रतिकिलो ७ देखि १० रुपैयाँमा बेच्नुपरेको छ, जुन लागतभन्दा निकै कम हो । किसानहरू अहिले विचित्रको दुविधामा छन्—खनौँ भने घाटा, नखनौँ भने कुहिने डर । ‘नखनेर राखौँ भने आलु बिग्रिन्छ, खनेर बेचौँ भने भाउ छैन,’ सापकोटा भन्छन्, ‘यसपालि मेहनत सबै खेर जाने भयो ।’

    नगदे बालीका रुपमा चिनिने आलुखेतीमा लागत अरु तरकारी बालीमा भन्दा बढी हुने गरेको छ । बीउ, मल, सिँचाइ, औषधि र ज्याला जोड्दा प्रतिकिलो २०–२२ रुपैयाँ लगानी लाग्छ । तर बजारमा त्यसको आधाभन्दा कम मूल्य पाइँदा किसान सीधै घाटामा गएका छन् । अघिल्ला वर्षमा यही समयमा २८–३५ रुपैयाँसम्म बिक्री हुने आलु अहिले आधा मूल्यमा झरेको छ । केही दिन अघि बीरगञ्ज पुगेर आलु बजारको अध्ययन गरी फर्किएका नालाका आलु व्यापारी अष्टलाल श्रेष्ठका अनुसार आलु खपत हुने शहरमै माग नभएको अवस्था छ । बीरगञ्जका थोक व्यापारीहरु पहिला काभ्रेको आलु ल्याउ भन्थे अहिले चाहिन्न भन्न थालेका छन् । यस पटक जिल्लाका पाँचखाल र मण्डनदेउपुरमा उत्पादन त बढेको पाइन्छ तर भाउ झन् घटदो छ । उत्पादन बढ्नु मात्र पर्याप्त छैन, बजार सुनिश्चित नभए किसान झन् संकटमा पर्छन् ।’

    बीउ, मल, सिँचाइ, औषधिको उपलब्धताले गर्दा पोहोर १ सय बोरा फलाएका किसानले यस पटक २ सय बोरा आलु फलाउन सफल भएका छन् । तर, काभ्रेपलाञ्चोकका बजारमा लागत नै नपाउने मूल्य आएपछि पाँचखालका केही किसान आफैँ काठमाडौंको कालीमाटी बजारसम्म आलु बोकेर पुगे । तर त्यहाँ पनि बिक्री नभएपछि सस्तोमै व्यापारीलाई छाडेर फर्कनुपरेको उनीहरू बताउँछन् । यसले किसानको लगानी मात्र होइन, आत्मविश्वास पनि खस्किएको छ । छिमेकी भारतमा समेत यतिखेर आलुको भाउ छैन । उत्पादनोपरान्त क्षतिबारेमा दख्खल राख्ने अनुसन्धानकर्ता डम्बर खनाल लेख्छ्न्, ‘भारतमा आलुको मूल्य अत्याधिक घटेपछि किसानहरू आन्दोलनमा उत्रिएका छन् । आज उत्तर प्रदेशको फररुखावाद आलु मण्डीबाट यसको सुरुवात भएको छ । तर, यता नेपालका किसानको अवस्था पनि फरक छैन । आलु किसानहरू अहिले १०–१२ रुपैयाँ किलोमा उत्पादन बेच्न बाध्य छन्, जहाँ लागत मूल्यको आधा पनि उठाउन सकिएको छैन । यस्तो अवस्थामा किसानको हक ’हितमा काम गर्ने भनौदा संगठनहरू कहाँ छन्? राज्यलाई झकझ्क्याउनु पर्ने होईन र ?’

    पाँचखाल नगर कृषि शाखाका अनुसार यस क्षेत्रमा मात्रै करिब ७० हजार रोपनीमा आलुखेती हुन्छ र वार्षिक ९० हजार मेट्रिक टनभन्दा बढी उत्पादन हुन्छ । तर यस वर्ष मूल्य घट्दा किसानले करिब ६३ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाउने अनुमान गरिएको छ । काभ्रेपलाञ्चोक देशकै प्रमुख तरकारी उत्पादक जिल्ला हो, जहाँबाट काठमाडौंको बजारमा ठूलो हिस्सा आपूर्ति हुन्छ । तर यति ठूलो उत्पादन हुँदाहुँदै पनि किसानले उचित मूल्य नपाउनु कृषि प्रणालीकै कमजोरीतर्फ संकेत गर्छ । अहिले काभ्रेका किसान एउटै प्रश्न सोधिरहेका छन्–‘जब उत्पादन राम्रो हुन्छ, तब पनि किन हामी नै घाटामा पर्छौं? उनीहरु एकै स्वरमा भन्न थालेका छन्, ‘सरकारले न्यूनतम समर्थन मूल्य तोक्नुपर्छ, भण्डारणको व्यवस्था गर्नुपर्छ र आलु प्रशोधन उद्योग खोल्नुपर्छ । नत्र हरेक वर्ष किसान यस्तै मारमा पर्नेछन् । यसले खाद्य असुरक्षासमेत बढाउन सक्छ ।’

    पाँचखाल नगर कृषि शाखाका अनुसार नगर क्षेत्रमा करिब ७० हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिन्छ । शाखा प्रमुख हेमन्त पौडेलले पाँचखालमा वार्षिक करिब ९० हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष बजार मूल्य घटेका कारण किसानले कुल लागत मूल्यको तुलनामा करिब रु ६३ करोड ७० लाखको हाराहारीमा आम्दानी गुमाउने आँकलन गरिएको छ । कृषि विकास कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा हरेक वर्ष नौ हजार १६३ हेक्टर जमिनमा आलु खेती हुने र वार्षिक एक लाख ८९ हजार ७८ मेट्रिक टन आलु उत्पादन हँदै आएको छ । यहाँका किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुमध्ये उपभोगलाई छुट्याएर देशकै ठुलो उपभोग्य बजार काठमाडौँको तरकारी मागको ३५ प्रतिशत हिस्सा काभ्रेपलाञ्चोकबाटै थेगिएको तथ्याङ्क छ । यसमध्ये आलुको परिमाण अग्रस्थानमा रहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीको भनाई छ ।



    bethanchok bethanchok    
  • २०८२ चैत्र २७, शुक्रबार ००:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP