काभ्रे । पटक–पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण कार्य धमाधम भइरहेको छ ।
नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षाअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाट नै यातायातका साधन सञ्चालन गर्नेगरी निर्माण कार्यलाई तीव्रता दिइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए ।
उनका अनुसार राजमार्गमा भइरहेको काम हेर्दा दुई वर्षभित्र सडक पुनर्निर्माणको काम सकिने छ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीनवटा सडकखण्डमा कुल २५ प्रतिशत काम भएको योगेशको भनाइ छ ।
विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस वर्षको वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि प्रक्रिया पु¥याएर स्थायी पुनर्निर्माण थालिएको हो । क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण गर्ने बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किलोमिटर सडक निर्माणको काम यसै महिनाभित्र ठेक्का सम्झौता हुने योगेशले जानकारी दिए ।
क्षति पु¥याएको विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि ‘आरसीसी’ पर्खाल लगाउन सुरु गरिएको छ । यस्तै डालाबेँसी, मङ्गलटार खण्ड, चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको योगेशले बताए।
उनका अनुसार गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ । राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त खण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ ।
कार्यालयका अनुसार क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणका लागि तीन खण्डमा एकैसाथ काम सुरु गरिएको हो । यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायत काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाई कालोपत्र गरी कामलाई तीव्रता दिइएको योगेशले बताए । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो ।
अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । ‘पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्ने छ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ,’ योगेशले भने ।
उनका अनुसार पाँचवटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ । डालाबेँसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी ठेक्का पाएको कार्यालयले जनायो ।
यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि ६१ करोड रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्नेगरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।
क्षतिग्रस्त कुल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडकलाई जाइकाले दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको थियो ।
क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिएको हो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक सडकखण्डलाई एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ ।
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई पक्की बनाउन थालिएको छ । उक्त सडकखण्डको स्तरोन्नतिका लागि यही चैत पहिलो सातादेखि दुई हप्ता बन्द गरी कामलाई तीव्रता दिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो ।
लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको सडक विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि स्तरोन्नतिलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त खण्डमा पक्की बनाउन यही चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान बन्द गरिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुनम योगेशले जानकारी दिनुभयो ।
उक्त अवधिभर टिपरसहित मालवाहक सवारीसाधानलाई पूर्णतः रोक लगाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार चार किलोमिटर दूरीको उक्त सडकखण्डमध्ये चैत महिनामा दुई दशमलव पाँच किमी र आगामी वैशाखमा बाँकी पक्की गरिसक्ने लक्ष्य लिइएको छ ।
उक्त सडकखण्डमा हाल ‘सिसीटिभी’ हाल्ने तयारी गरिएको सिनियर डिभिजनल इञ्जिनियर योगेशले बताउनुभयो । “त्यसपछि लक्ष्यअनुसार पक्की बनाउँदै लगिनेछ”, उहाँले भन्नुभयो । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको स्तरोन्नतिका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरेपछि विभिन्न स्थानमा कटिङको काम सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सिएन एवान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो । हाल साना संरचना तथा टेवा पर्खाल निर्माण भइरहेको जनाइएको छ । चिसो मौसमका कारण सडकमा सतह ९सर्फेस्०को काम नभएको भन्दै चिसो कम हुँदै गएपछि पक्की बनाइने योगेशले बताउनुभयो । उक्त सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी काम गरिने उहाँको भनाइ छ ।
सात मिटर चौडाइको बन्ने उक्त सडकका विभिन्न खण्डमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोग गरिने सिनियर डिभिजनल इञ्जिनियर योगेशले जानकारी दिनुभयो । यसैबीच निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको स्थानीय बताउँछन् । कार्यलयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो ।
उक्त सडक नयाँ निर्माण कम्पनीले समयमा सक्नेमा आशावादी भएको योगेशले बताउनुभयो । जिल्ला सदरमुकाम धुलिखेल(खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी(पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले विसं २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी(पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो ।
अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमासमेत रहेको उक्त राजमार्ग समयमा नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य हुँदै आएका छन् ।
उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले योजना बनाएको छ ।
प्रतिक्रिया