काभ्रे । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा “उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता” भन्ने मूल नारालाई आत्मसात गर्दै जिल्ला सहकारी संघ लि. काभ्रेको महिला विकास उपसमितिको आयोजनामा सहकारीमा महिला उद्यमशीलता विकास सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार संघको सभाहलमा आयोजना गरिएको कार्यक्रमको सभापतित्व महिला विकास उपसमितिका संयोजक तथा संघकी सञ्चालक सदस्य अम्बिका तिमल्सिनाले गरेकी थिइन् । प्रमुख अतिथिका रूपमा बनेपा नगरपालिकाकी उप–प्रमुख बिमला सापकोटा र विशिष्ट अतिथिका रूपमा सामाजिक विकास कार्यालयकी शाखा प्रमुख मन्जु कार्कीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठ, सचिव प्रकाश बञ्जारा, कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटा, सञ्चालक समितिका सदस्यहरू, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरू, संघका सल्लाहकारहरू, विभिन्न उपसमितिका सदस्यहरू, कर्मचारीहरू तथा जिल्लाभरका विभिन्न सहकारी संस्थाबाट आएका ४४ जना प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको सुरुवात महिला विकास उपसमितिकी सदस्य रामशोभा खड्काले स्वागत मन्तव्य मार्फत गरेकी थिइन् । उनले सहकारी क्षेत्रमार्फत महिलाहरूको आर्थिक सशक्तीकरणमा जोड दिँदै यस्ता कार्यक्रमले महिलाहरूमा आत्मनिर्भरता र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा महिला उद्यमी दीक्षा पौडेलद्वारा प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो । प्रशिक्षणका क्रममा उनले सहकारीमार्फत महिला उद्यमशीलता विकासका सम्भावना, उद्यम सञ्चालनका आधारभूत पक्षहरू, वित्तीय व्यवस्थापन, पूँजी परिचालन, बजारिकरण रणनीति, उत्पादन विविधीकरण तथा नवप्रवर्तनका विषयमा विस्तृत रूपमा जानकारी दिँदै व्यावहारिक उदाहरणहरूमार्फत उद्यमशीलताको सफल अभ्यासबारे पनि प्रकाश पारेकी थिइन् ।
प्रमुख अतिथि बिमला सापकोटाले आफ्नो मन्तव्यमा सहकारी क्षेत्र महिलाहरूको आर्थिक तथा सामाजिक रूपान्तरणको सशक्त माध्यम भएको उल्लेख गर्दै स्थानीय तहबाट समेत महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । विशिष्ट अतिथि मन्जु कार्कीले सहकारी संस्थाहरूले पारदर्शिता र उत्तरदायित्वलाई आत्मसात गर्दै महिलामैत्री कार्यक्रमहरू विस्तार गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
त्यसैगरी संघका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारीको माध्यमबाट उत्पादनमूलक क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्ने आवश्यकता औंल्याउँदै सहकारी संस्थाहरूलाई उद्यमशीलतामुखी बनाउने दिशामा संघले निरन्तर पहल गर्ने बताए । सभापति अम्बिका तिमल्सिनाले कार्यक्रमको समापन गर्दै महिला विकास उपसमितिले आगामी दिनमा समेत यस्ता सशक्तीकरणमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सहकारीमार्फत उद्यम विकासका चुनौती, अवसर तथा समाधानका उपायहरूबारे खुला रूपमा आफ्ना धारणा राखेका थिए । विशेषगरी वित्तीय पहुँच विस्तार, सीप विकास, बजार सुनिश्चितता तथा नवप्रवर्तन प्रवद्र्धनका विषयमा गहन छलफल भएको थियो ।
कार्यक्रमले सहकारी क्षेत्रमार्फत महिला उद्यमशीलता विकासमा थप ऊर्जा प्रदान गर्नुका साथै सहभागीहरूबीच ज्ञान, अनुभव तथा विचार आदानप्रदान गर्ने महत्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित भएको आयोजकले जनाएको छ । साथै, यस प्रकारका कार्यक्रमहरूले सहकारी अभियानलाई थप सुदृढ बनाउँदै आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा टेवा पु¥याउने विश्वास व्यक्त गरिएको छ ।
प्रतिक्रिया