बनेपा । बागमती प्रदेश अन्र्तगत सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्ले विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्यमा यस वर्ष ३ सय जना भन्दा बढी औद्योगिक प्रशिक्षार्थीहरू तयार गरेको छ । परिषद्का कार्यकारी निर्देशक शान्ति लामाका अनुसार यस वर्ष मात्रै विभिन्न १४ शिक्षालयमा अटोमोबाइल्स, सिभिल इन्जिनियरिङ (बिल्डिङ कन्स्ट्रक्सन), होटल म्यानेजमेन्ट, इन्फर्मेसन टेक्नोलोजी, बालविकास सहजकर्ता र मेकानिकल इन्जिनियरिङ विषयमा प्री–डिप्लोमा कोर्ष (२४ महिने निशुल्क तालिम) सञ्चालन भइरहेको छ । सबै कोर्षमा एकपटकमा ४० जना भर्ना हुने गरेका छन । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) र बाग्मती प्रदेश उद्योग परिसंघसँगको सहकार्यमा सञ्चालित तालिमका प्रशिक्षार्थीले साढे १९ महिना सम्बन्धित उद्योगमा र साढे तीन महिना शिक्षालयमा बिताउने गरेका छन ।
एकातिर पढाइसँगै कमाई पनि हुन्छ, पढाइ पूरा हुँदा सम्बन्धित उद्योगमा नै जागिर सुनिश्चित हुने भएकाले तालिममा आकर्षण देखिएको छ । इन्स्योर परियोजनाका मूल्याङ्कन तथा अनुगमन अधिकृत उपेन्द्रराज जोशीका अनुसार प्रशिक्षार्थीले हाजिरी भएको दिनको दैनिक १ सयका दरले भत्ता पाउँछन् । ५२ दिन छुट्टीको सुविधा छ भने ७ लाख बराबरको दुर्घटना बीमा र प्राथमिक उपचार सेवा पनि पाउँछन् । सम्बन्धित उद्योगमा अन द जब ट्रेनिङ ओजेटी गर्दा न्यूनतम शुल्क समेत उपलब्ध गराइन्छ । बाग्मती प्रदेश उद्योग परिसंघले प्रशिक्षार्थीहरूका लागि कार्यस्थल उद्योगको सहजीकरण गर्ने काम गर्छ । परिसंघका वरिष्ठ उपाध्यक्ष दिवस न्यौपानेले स्वदेश तथा विदेशमा प्राविधिक जनशक्तिको उच्च माग भएकाले दत्तचित्त भएर लाग्न प्रशिक्षार्थीहरूलाई अनुरोध गर्नुभयो । परिसंघका कार्यक्रम अधिकृत कान्छामान तामाङ (नविन) का अनुसार, प्रशिक्षार्थीहरूले उच्चस्तरका होटल, रिसोर्ट लगायतका विभिन्न उद्योगहरूमा काम गरिरहेका छन् । नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा होटल म्यानेजमेन्ट कोर्ष गरेर हाल आगन्तुक रिसर्ट बनेपामा काम गरिरहेकी अन्जना घोरासाइनेले तालिमबाट आफू निकै लाभान्वित भएको तर्क गर्दै स्वदेशमा नै केही गर्ने जाँगर पलाएको बताउनुहुन्छ । शिक्षालय प्रमुख रोहित दाहालले सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई समानजस्यता बनाउन सके प्राविधिक तालिमले जीवनमा ठूलो प्रभाव पार्ने बताउनुभयो ।
प्रतिक्रिया