पनौती । पनौती नगरपालकामा क्रसर तथा खानीबाट साँढे सात महिनामा करिब २० करोड राजश्व संकलन भएको छ । गत भदौदेखि चैत्र १४ गतेसम्ममा १९ करोड ९१ लाख १० हजार दुई सय रुपैयाँ राजश्व संकलन भएको हो । पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार तीन पटकसम्म राजश्व संकलनका लागि विद्युतीय बोलपत्र आह्वान भएपनि बोलपत्र पेश नभएपछि कर्मचारीबाटै अमानतमा राजश्व संकलन भईरहेको जानकारी दिनुभयो । मूल्य अभिबृद्धि कर बाहेक न्युनतम ३२ करोड ११ लाख १ रुपैयाँको बोलपत्र आह्वान भएको थियो । कोहीबाट बोलपत्र पेश नभएपछि गत भदौ १ गते बसेको कार्यपलिका बैठकले पनौती नगरपालिका वडा नं. १२ स्थित रोशी खोला कर संकलन केन्द्र र वडा नं. ८ स्थित मल्पी कर संकलन केन्द्रमा कर्मचारी खटाई अमानतमा राजश्व संकलन गर्ने निर्णय भएको थियो । पनौती नगरपालिका भित्र सञ्चालित क्रसर तथा खानी उद्योगबाट भदौ महिनामा एक करोड १९ लाख ९१ हजार ९ सय ६० रुपैँया राजश्व संकलन भएको थियो । त्यसरी नै असोजमा ३६ लाख ८ हजार ८ सय, कार्तिकमा ११ लाख ४३ हजार ४९० रुपैँया, मंसिरमा ३ करोड ४८ लाख ९३ हजार ६० रुपैँया, पुस महिनामा ४ करोड ९० लाख ५० हजार ७ सय, माघ महिनामा ४ करोड २८ लाख ६८ हजार एक सय ८० रुपैँया, फागुन महिनामा ३ करोड ८६ लाख ८२ हजार ६ सय र चैत्र १४ गतेसम्ममा २ करोड २८ लाख ३१ हजार ९ सय ९० रुपैँया राजश्व संकलन भएको छ । बार्षिक राजश्व संकलन लक्ष अनुसार ५६ दशमलव ३३ प्रतिशत राजश्व संकलन भएको नगरपालिकाका प्रमुख भण्डारीले जानकारी दिनुभयो । भौतिक संरचना निर्माणको समय भएकोले दैनिक करिब १५ लाख राजश्व संकलन भईरहेकोले आर्थिक बर्षको अन्त्यसम्ममा नगरपालिकाको लक्ष अनुसार पूरा हुने अनुमान रहेको छ । राजश्व संकलन कार्यमा कुनैपनि व्यक्ति वा संस्थाको दबाब र प्रभावमा छुट नहुने र त्यस्तो पाईएमा नियम अनुसार कारवाही हुने नगरपालिकाले जारी विज्ञप्तिमा उल्लेख गरेको छ । राजश्व संकलनलाई पारदर्शीता र दिगोपनाको बिषयमा नगरपालिका गम्भीर रहेको र निगरानीका लागि सरोकारवालाहरुलाई नगरप्रमुख भण्डारीले अनुरोध गर्नुुभएको छ । नगरपालिका भित्र सञ्चालित क्रसर तथा खानी उद्योगहरुलाई प्रचलित कानुन, मापदण्ड तथा वातावरणीय सर्तहरुको पूर्ण पालना गरेर मात्र खानी तथा उद्योग सञ्चालन गर्नपनि नगरपालिकाको अनुरोध ।
प्रतिक्रिया