भकुण्डेवेशी । नमोबुद्ध नगरपालिकाका विभिन्न समूहमा आबद्ध महिलाहरूलाई प्रभावकारी नेतृत्व र सञ्चार सीप सम्बन्धी तालिम प्रदान गरिएको छ । समापन समारोहमा नगर प्रमुख कुनसाङ लामाले नेतृत्व विकासका साथै हिंसा नियन्त्रणका लागि तालिम फलदायी हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले विगतको तुलनामा महिलाहरूको राजनीतिक, सामाजिक अवस्था सुधारिए पनि ग्रामीण भेगमा अझै समस्या रहेको तर्क गर्नुभयो ।
उहाँले महिला लक्षित बजेटलाई प्राथमिकता दिएको भन्दै आगामी दिनमा सीपमूलक तालिममा समेत जोड दिइने बताउनुभयो । तालिमका सहभागी मुना कार्कीले महिला लक्षित कार्यक्रम सञ्चालन गरेकोमा नगरपालिकालाई आभार प्रकट गर्दै लेखा, कम्प्युटरसम्बन्धी तालिमका साथै सिपमूलक तालिममा जोड दिनुभयो ।नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको संयोजनमा चैत्र १७ देखि २० गतेसम्म भएको तालिममा नगरभित्रका विभिन्न सहकारी, महिला समूहका ५२ जनाको सहभागिता थियो । सहभागीहरूलाई महिला अधिकार, नेतृत्व विकास, सकारात्मक सोचका साथै प्रभावकारी नेतृत्व र सञ्चार सीपका बारेमा प्रशिक्षण दिएको थियो ।
मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले महिला र मानव अधिकार, महिलामाथि हुने हिंसा र कानुनी प्रावधान, महिला सशक्तिकरण, नेतृत्व विकासलगायत विषयवस्तुमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सञ्चारकर्मी शुभराज अधिकारीले उद्घोषण कला, स्टेज कार्यक्रमको शैली, कुशल वक्ता बन्ने सरल तरिकालगायत विषयमा प्रशिक्षण दिनुभयो । सञ्चारकर्मी नगेन्द्र अधिकारीले प्रभावकारी सार्वजनिक भाषण कलाका साथै लैङ्गिक हिंसा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका विषयमा प्रशिक्षण दिनुभयो । तालिममा संगठन विकासमा नेतृत्वको भूमिकाका साथै सकारात्मक सोच, सिकाई र ज्ञान व्यवस्थापन लगायतका विषयमा समेत प्रशिक्षण दिइयो । नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारले नगरपालिकाले वर्षेनी करिब ७ सय महिलाहरूलाई सचेतना, क्षमता अभिवृद्धिलगायतका विभिन्न तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया