धुलिखेल । शनिबार र आइतबारको असिना–पानीले काभ्रेका किसानको उत्पादनमा ठूलो क्षति गरेको छ । असिनापानीले पु¥याएको क्षतिका विषयमा प्रतिनिधिसभा सांसद मधुकुमार चौलागाईंसहित स्थानीय जनप्रतिनिधि, जिल्ला कृषि विकास कार्यालयका प्राविधिलगायतको टोलीले अवलोकन तथा जानकारी लिएको छ । सो क्रममा धुलिखेल र पनौती नगरपालिका क्षेत्रका बालीको अनुगमन गरिएको हो । अनुगमनका क्रममा धुलिखेलको वडा नं १, ११ र १२ तथा पनौतीको वडा नं ६, ८, ९ र १० का खेतबारीमा लगाइएको आलु तथा तरकारी खेती र अन्य फलफूलमा क्षति पुगेको पाइएको छ । अनुगमनका क्रममा सांसद चौलागाईंले क्षतिको यकीन विवरण वडा कार्यालयलाई उपलब्ध गराउन आग्रह गर्नुभयो । जिल्ला कृषि विकास कार्यालयले वर्षाका कारण बालीनाली तथा फलफूलमा पुगेको क्षतिको विवरण सङ्कलन थालिएको जनाएको छ। स्थानीय तहसँग समन्वय गरी क्षतिको विवरण लिन थालिएको कार्यालयका अधिकृत रामशरण मिजारले जानकारी दिनुभयो । प्रारम्भिक रूपमा हेर्दा कृषकको ९५ प्रतिशत आलुबाली तथा अन्य फलफूलमा क्षति पुगेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
प्रतिक्रिया