पनौती । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले पनौती नगरपालिका–५, नैकिनटारस्थित महर्षी मुद्गल सान्दिपनी गुरुकुललाई खाद्यान्न सहयोग गरेको छ । महासंघका पदाधिकारी तथा जिल्लामा क्रियाशील पत्रकारहरूले श्रीखण्डपुरस्थित गुरुकुल पुगेर चामल, दाल, तेल, चिनी, तरकारी, मसला, बिस्कुट र फलफूल लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, पूर्वअध्यक्षहरू ईश्वरी ओझा, महेशराज पौडेल, नारायण सापकोटा, मोतिराम तिमिल्सना, कार्यसमितिका सदस्यहरू तथा जिल्लामा सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो । विन्धवासिनी आध्यात्मिक प्रतिष्ठानद्वारा सञ्चालन हुँदै आएको उक्त गुरुकुलमा हाल १७ जना बटुक अध्ययनरत छन् । कार्यक्रममा प्रतिष्ठानका संस्थापक परमाध्यक्ष अनन्त श्री विभूषित स्वामी श्री निःशेषानन्द गिरिजी महाराजले समाजमा सञ्चार माध्यमले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा आध्यात्मिक र संस्कारयुक्त शिक्षा प्रवद्र्धनका विषयमा पनि कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले स्थापना दिवसलाई अर्थपूर्ण बनाउने उद्देश्यले गुरुकुललाई सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रतिष्ठान तथा गुरुकुलका तर्फबाट संयोजक रामप्रसाद तिमिल्सिना, बद्री तिमिल्सना लगायतले पत्रकार महासंघबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै दान तथा सहयोगबाट सञ्चालन भइरहेको गुरुकुललाई सहयोग गर्न अन्य व्यक्ति तथा संस्थालाई पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया