धुलिखेल । अरनिको राजमार्गको धुलिखेल–खावा सडकमा पिच (कालोपत्रे) को काम सुरु भएको छ । अरनिको राजमार्गको धुलिखेल–खावा सडकको धुलिखेल चोकबाट कालोपत्रेको काम सुरु भएको हो । पहिलो चरणमा ४ किलोमिटर मध्ये २.५ किलोमिटर सडकमा कालोपत्रे हुनेछ भने दोश्रो चरणमा १.५ किलोमिटर कालोपत्रे हुने आयोजनाले जनाएको छ । अघिल्लो पटक २०७९ जेठ २० मा २२ महिनामा काम सक्ने गरि गौरी पार्वती निर्माण सेवाले ठेक्का पाएको थियो । सडक बनाइसक्नुपर्ने मिति सकिएको ११ महिनासम्म पनि निर्माण सम्पन्न नगरेपछि २०८१ फागुन २५ गते सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गरेको थियो । पुरानो ठेक्का रद्द गरेर १४ महिनामा काम सक्नेगरि गत साउनमा नयाँ ठेक्का खुलाईएको थियो । नेपाल सरकारबाट ४२ करोडको श्रोत सुनिश्चित भइ १४ महिनाको अवधि तोकेर नयाँ ठेक्का लगाउदा नै आगामी बर्षको बर्खा नलाग्दै सडकमा पिचको काम सक्नेगरी सिएम एवन काली जेभीले ठेक्का पाएको थियो । ठेक्का पाएको सिएम एवन काली जेभीका कन्ट्याक्ट् म्यानेजर राजन योगलले तोकिएकै समय भित्र काम सकिने दावी गरे । ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने गरि सडक निर्माण भएको छ ।
प्रतिक्रिया