बनेपा । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेष्ट ले गठन गरेको पैरवी समूहका सदस्यहरूको क्षमता अभिवृद्धिको लागि अभिमुखीकरण प्रदान गरेको छ । बालबालिकाहरूको अधिकार स्थापित गर्न तथा न्यायमा पहुँच बनाउन काम गर्दै आएका सिन्धुपाल्चोक र रामेछाप जिल्लाका २० जनालाई संस्थाले क्षमता अभिवृद्धि गराएको हो । संस्थामा आबद्ध पूर्व विद्यार्थी र विद्यालय शिक्षकहरू सहितको पैरवी समूह गठन गरिएको छ ।समूहले बालअधिकार, बालविवाह न्यूनीकरण, बालबालिका सम्बन्धी अपराध र कानुनी कारबाही, यौनजन्य हिंसा नियन्त्रण, बलात्कार, दुव्र्यवहार जस्ता अपराध नियन्त्रणका लागि पैरवी गर्ने रेस्टका रामेछाप जिल्ला संयोजक उमेश नेपालले जानकारी दिनुभयो । रेष्टले छात्राहरूको शिक्षाका लागि सहयोग गर्दै आएको छ । संस्थाले कक्षा १ देखि १० सम्म अध्ययनरत बालिकालाई बर्षभरी चाहिने स्टेशनरी, झोला, कपडा र ज्यालाबाट प्रतिव्यक्ति ८ सयका दरले सहयोग गर्छ । यसका अतिरिक्त परिक्षा, भर्ना शुल्को लागि अभिभावकलाई २ हजार २ सयका दरले सहयोग गर्ने गरिएको छ । कक्षा ८ र ९ मा अध्ययनरतलाई अतिरिक्त कक्षाको लागि जनही २ हजार , कक्षा ९ र १० मा अध्ययनरतलाई अतिरिक्त किताबको लागि ८ सय र माध्यमिक शिक्षा परिक्षा एसईई तयारीको लागि ७ हजार र प्राविधकि धारको लागि ५ हजारका दरले सहयोग गर्ने गरेको छ । कक्षा ११ र १२ मा अध्यनरतको पोशाकको लागि ४ हजार ५ सय, किताबको लागि ४ हजार ५ सय देखि ५ हजार ५ सय सम्म, गाडी भाडा १ हजार ५ सय देखि ३ हजारसम्म , कोठा भाडा ३ हजार र कलेजको सम्पूर्ण शुल्क सहयोग गर्दै आएको छ । ०४९ सालमा स्थापना भएको संस्थाले हालसम्म ३५ हजार भन्दा बढी बालिकाको शिक्षाका लागि सहयोग गरिसकेको छ । यसका अलाबा मानव बेचबिखन, लैंगिक हिंसा र बालविवाह नियन्त्रणका साथै पोषण र मानसिक स्वास्थ्यको क्षेत्रमा पनि काम गर्दै आएको छ ।
प्रतिक्रिया