धुलिखेल । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जेठ ४ र ५ गते धुलिखेलमा प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला गर्ने भएको छ । ‘जरा अभियान’ अन्तर्गत ७ वटै प्रदेशमा विभिन्न मितिमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ गर्ने निर्णय गरे बमोजिम बागमती प्रदेशका भेला काभ्रेपलाञ्चोकको धुलिखेलमा सोमबार र मंगलबार हुने भएको हो । धुलिखेलमा हुने कार्यक्रमलाई भव्य बनाउन तयारी थालिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकका सभापति एवं बाग्मती प्रदेश सरकारका पूर्वमन्त्री समेत रहेका प्रदेश सभा सदस्य तीर्थ लामाले जानकारी दिनुभयो । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले तयारी बैठक बसेर उद्घाटन सत्रमा जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरु, प्रतिनिधि सभा, प्रदेश सभा र पालिका कार्य, वडा कार्यसमिकिा साथै भातृ एवं शुभेच्छुक संस्थाका सबै नेता, कार्यकर्तालाई उपस्थितीको लागि निर्देशन दिएको छ । ‘जरा अभियान’ अन्तर्गत यसअघि सुदुरपश्चिम, कर्णाली र ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ सम्पन्न भएका छन् भने गण्डकी प्रदेशमा हुने क्रममा छ । सभापति गगनकुमार थापाले उद्घाटन गर्ने भेलामा केन्द्रीय कार्यसमितिमा रहेका बागमती प्रदेश भित्रका सबै पदाधिकारी एवं सदस्य, बागमती प्रदेश कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्य, वागमती प्रदेश सभाका सरकार र प्रदेश सभामा रहेका सबै सदस्य, प्रदेश भित्रका सबै जिल्ला सभापति, जिल्ला समन्वय समितिका निर्वाचित प्रमुख, उपप्रमुखहरू, पालिकामा निर्वाचित प्रमुख, उपप्रमुखहरु, पालिकाको पार्टी सभापतिहरु र काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिका पदाधिकारी एवं महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरु, प्रतिनिधि सभा क्षेत्रीय सभापतिहरू, प्रदेश सभा क्षेत्रीय सभापतिहरु र पालिकाका पार्टी सभापतिहरु सहित ३ सय ८५ जना सहभागी हुनेछन् । कार्यक्रमको व्यवस्थापन नेपाली कांग्रेस वागमती प्रदेश कार्यसमितिले गर्नेछ भने स्थानीय संयोजन जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले गर्नेछ । कार्यक्रमलाई केन्द्रवाट सहमहामन्त्री उदयशम्शेर राणा र केन्द्रीय सदस्य उज्ज्वलप्रसाद बरालले समन्वय र सहजीकरण गर्नेछन् ।
प्रतिक्रिया