कमल नेपाल
विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तन आज मानव जीवनका लागि गम्भीर चुनौती बनेको छ । औद्योगिकीकरण, वन विनाश, प्रदूषण तथा हरितगृह ग्यासको अत्यधिक उत्सर्जनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसको प्रत्यक्ष प्रभाव मौसममा देखिन थालेको छ । अनियमित वर्षा, अत्यधिक गर्मी, खडेरी, बाढी, पहिरो, हिमताल विस्फोट, डढेलो तथा आँधीबेहरीजस्ता प्राकृतिक विपत्तिहरू पहिलेभन्दा धेरै बढेका छन् । नेपालजस्तो हिमाली तथा प्राकृतिक स्रोतमा आधारित मुलुकमा जलवायु परिवर्तनको असर अझ गम्भीर रूपमा देखिएको छ । विशेषगरी कृषि र पर्यटन क्षेत्र यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।
नेपालको अर्थतन्त्र मुख्यतः कृषि र पर्यटनमा आधारित छ । देशको ठूलो जनसंख्या कृषि पेशामा निर्भर छ भने पर्यटनले विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको छ । तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण यी दुवै क्षेत्रमा विभिन्न समस्या उत्पन्न भएका छन् । कृषि उत्पादन घट्नु, खेतीयोग्य जमिन नष्ट हुनु, हिमाल पग्लिनु, पर्यटन गतिविधि प्रभावित हुनुजस्ता समस्या बढ्दै गएका छन् ।
कृषि क्षेत्र जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको छ । पहिले निश्चित समयमा हुने वर्षा अहिले अनियमित हुन थालेको छ । कतिपय क्षेत्रमा अत्यधिक वर्षा हुने र कतै लामो समयसम्म वर्षा नहुने समस्या देखिएको छ । यसले धान, मकै, गहुँजस्ता मुख्य बालीको उत्पादनमा असर पारेको छ । किसानहरूले समयमा रोपाइँ गर्न नपाउने, बाली सुक्ने तथा उत्पादन घट्ने समस्या भोगिरहेका छन् । विशेषगरी तराई र पहाडी क्षेत्रमा खडेरीका कारण पानीको अभाव बढेको छ । धेरै ठाउँमा पानीका मुहान सुक्दै गएका छन् जसले सिँचाइमा समस्या उत्पन्न गरेको छ ।
अत्यधिक वर्षाका कारण आउने बाढी र पहिरोले पनि कृषि क्षेत्रमा ठूलो क्षति पु¥याइरहेको छ । बाढीले खेतीयोग्य जमिन बगाउने, खेतमा लगाइएको बाली नष्ट गर्ने तथा माटोको उर्वराशक्ति घटाउने समस्या सिर्जना गरेको छ । पहाडी क्षेत्रमा पहिरोका कारण खेतबारी पुरिने तथा मानव बस्ती नै जोखिममा पर्ने अवस्था आएको छ । यसले किसानको आर्थिक अवस्था कमजोर बनाएको छ ।
जलवायु परिवर्तनका कारण रोग तथा किराको प्रकोप पनि बढेको छ । तापक्रम वृद्धि भएसँगै नयाँ–नयाँ कीरा तथा रोग फैलिन थालेका छन् । धान, तरकारी तथा फलफूलमा लाग्ने रोगका कारण उत्पादनमा कमी आएको छ । किसानले विषादी तथा औषधिमा धेरै खर्च गर्नुपरेको छ । यसले उत्पादन लागत बढाएको छ भने आम्दानी घटाएको छ ।
हिमाली क्षेत्रमा पनि जलवायु परिवर्तनको प्रभाव स्पष्ट रूपमा देखिएको छ । हिउँ कम पर्न थालेपछि पानीका स्रोतहरू सुक्दै गएका छन् । यसले हिमाली क्षेत्रमा हुने कृषि तथा पशुपालनलाई प्रभावित गरेको छ । आलु, जौ तथा अन्य बालीको उत्पादन घट्दै गएको छ । चरन क्षेत्र सुक्न थालेपछि पशुपालनमा पनि समस्या उत्पन्न भएको छ ।
जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पनि गम्भीर असर पारेको छ । नेपाल प्राकृतिक सौन्दर्य, हिमाल, संस्कृति तथा जैविक विविधताले भरिपूर्ण देश भएकाले यहाँ पर्यटनको ठूलो सम्भावना छ । तर बढ्दो तापक्रमका कारण हिमालहरू पग्लिन थालेका छन् । सगरमाथालगायत विभिन्न हिमालमा हिउँ कम हुँदै गएको छ । हिमनदी पग्लिँदा हिमतालको आकार बढ्दै गएको छ जसले हिमताल विस्फोटको खतरा बढाएको छ । यस्तो जोखिमले हिमाली पर्यटन र पर्वतारोहण क्षेत्र प्रभावित भएको छ ।
हिमताल विस्फोटका कारण तल्लो क्षेत्रमा रहेका बस्ती, होटल तथा पर्यटन पूर्वाधार जोखिममा परेका छन् । पर्यटकहरू असुरक्षित महसुस गर्न थालेका छन् । यसले पर्यटन व्यवसायमा नकारात्मक असर पारिरहेको छ । मौसमको अनिश्चितताले ट्रेकिङ तथा पर्वतारोहण गतिविधि पनि कठिन र जोखिमपूर्ण बनेका छन् । अचानक हिमपात, वर्षा तथा आँधीका कारण दुर्घटनाको सम्भावना बढेको छ ।
जलवायु परिवर्तनका कारण बढ्दै गएका बाढी, पहिरो, डढेलो तथा हिमताल विस्फोटजस्ता प्राकृतिक विपत्तिहरूले सडक, पुल, होटल, पदमार्ग तथा अन्य कृषि र पर्यटनसम्बन्धी पूर्वाधारमा ठूलो क्षति पु¥याइरहेका छन् । अत्यधिक वर्षा र पहिरोका कारण ग्रामीण सडक अवरुद्ध हुने, पुल बग्ने तथा कृषि उत्पादन बजारसम्म पु¥याउन कठिन हुने समस्या बढेको छ । त्यसैगरी बाढीले सिँचाइ प्रणाली, खेतीयोग्य जमिन तथा भण्डारण संरचना नष्ट गरिरहेको छ । पर्यटन क्षेत्रमा ट्रेकिङ मार्ग, होटल तथा पर्यटकीय स्थलहरू क्षतिग्रस्त हुँदा पर्यटक आगमनमा कमी आएको छ । यसले आर्थिक गतिविधि कमजोर बनाउँदै स्थानीय जनजीवनमा नकारात्मक असर पारिरहेको छ ।
अति भारी वर्षा, हिमपात, असिना, पहिरो तथा हावाहुरीजस्ता प्राकृतिक विपत्तिहरूले कृषि क्षेत्रमा ठूलो क्षति पु¥याइरहेका छन् । अत्यधिक वर्षाका कारण खेतबारी डुबानमा पर्नुका साथै लगाइएको बाली कुहिने र नष्ट हुने समस्या बढेको छ । हिमपात र असिनाले तरकारी, फलफूल तथा अन्नबालीमा प्रत्यक्ष असर पु¥याएर उत्पादन घटाइदिन्छ । पहिरोले खेतीयोग्य जमिन बगाउनुका साथै माटोको उर्वराशक्ति पनि नष्ट गर्छ । त्यसैगरी हावाहुरीले पाक्न लागेको बाली ढाल्ने, फलफूल झार्ने तथा कृषि संरचनामा क्षति पु¥याउने गर्दछ । यी प्राकृतिक विपत्तिका कारण किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ भने खाद्य उत्पादनमा समेत नकारात्मक असर परेको छ ।
वन डढेलो अर्को ठूलो समस्या बनेको छ । गर्मी बढेसँगै डढेलोका घटना बढिरहेका छन् । डढेलोले वन तथा जैविक विविधता नष्ट गरिरहेको छ । साथै वायु प्रदूषण बढ्दा पर्यटकको स्वास्थ्यमा असर पर्ने तथा पर्यटन गतिविधिमा बाधा पुग्ने गरेको छ । राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा रहेका वन्यजन्तु र वनस्पतिमा असर पर्दा पर्यावरणीय पर्यटनसमेत प्रभावित भएको छ ।
जलवायु परिवर्तनका यी समस्याहरू समाधान गर्न दीर्घकालीन योजना र प्रभावकारी उपाय आवश्यक छन् । कृषि क्षेत्रमा आधुनिक तथा जलवायु–मैत्री कृषि प्रणाली अपनाउनुपर्छ । कम पानीमा उत्पादन हुने बाली, उन्नत बीउ तथा आधुनिक प्रविधिको प्रयोग बढाउन आवश्यक छ । पानी संकलन, सिँचाइ व्यवस्थापन तथा वर्षे पानीको उपयोगलाई प्राथमिकता दिनुपर्छ । किसानलाई कृषि बीमा तथा राहत कार्यक्रममार्फत सहयोग गर्नुपर्छ ताकि प्राकृतिक विपत्तिबाट हुने क्षति कम गर्न सकियोस् ।
वन संरक्षण तथा वृक्षारोपणलाई पनि विशेष महत्व दिनुपर्छ । वनले वातावरण सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । वन विनाश रोक्न सके जलवायु परिवर्तनको असर कम गर्न सहयोग पुग्छ । साथै किसानलाई तालिम तथा जनचेतना कार्यक्रममार्फत सचेत बनाउनु आवश्यक छ ।
पर्यटन क्षेत्रमा दिगो तथा वातावरणमैत्री पर्यटन नीति अपनाउनुपर्छ । हिमताल तथा हिमनदीको नियमित अध्ययन र निगरानी गर्न आवश्यक छ । जोखिमयुक्त क्षेत्रको पहिचान गरी सुरक्षाका उपाय अपनाउनुपर्छ । प्लास्टिकको प्रयोग घटाउने, स्वच्छ ऊर्जा प्रयोग गर्ने तथा वातावरण संरक्षणमा जोड दिने पर्यटन प्रणाली विकास गर्नुपर्छ ।
विपद् व्यवस्थापन प्रणालीलाई बलियो बनाउनु पनि आवश्यक छ । मौसमसम्बन्धी सूचना समयमै उपलब्ध गराउने, उद्धार तथा राहत प्रणाली प्रभावकारी बनाउने तथा पर्यटकको सुरक्षामा ध्यान दिनुपर्छ । स्थानीय समुदायलाई पर्यटन संरक्षण तथा व्यवस्थापनमा सहभागी गराउँदा दिगो पर्यटन विकासमा सहयोग पुग्छ ।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सरकार, निजी क्षेत्र र नागरिक सबैको समान भूमिका आवश्यक हुन्छ । सरकारले स्पष्ट नीति तथा कानुन निर्माण गरी वातावरण संरक्षणमा कडाइ गर्नुपर्छ । वैकल्पिक ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ । नागरिकहरूले पनि वन संरक्षण, प्रदूषण नियन्त्रण तथा ऊर्जा बचतमा ध्यान दिनुपर्छ ।
अन्ततः जलवायु परिवर्तन आज सम्पूर्ण विश्वका लागि साझा चुनौती बनेको छ । यसको प्रभाव नेपालमा कृषि र पर्यटन क्षेत्रमा गम्भीर रूपमा देखिएको छ । प्राकृतिक विपत्तिहरू बढ्दै जाँदा आर्थिक तथा सामाजिक जीवन प्रभावित भइरहेको छ । तर समयमै उचित योजना, वातावरण संरक्षण, आधुनिक प्रविधि तथा जनचेतनाको माध्यमबाट यसको असर कम गर्न सकिन्छ । सरकार, समुदाय र नागरिक सबै मिलेर काम गरेमा सुरक्षित वातावरण निर्माण गर्न सकिन्छ र भविष्यका पुस्तालाई स्वच्छ तथा सुरक्षित पृथ्वी हस्तान्तरण गर्न सकिन्छ ।
(लेखक माउण्ट महाभारत होमस्टे, रिट्रिट एण्ड फार्म बेथानचोकका सञ्चालक हुन ।)
प्रतिक्रिया