भकुण्डेबेशी । निरन्तर तीन वर्ष देखि नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा हुने जिल्लाको पहिलो स्थानीय तह भएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये नमोबुद्ध २०७९ सालदेखि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पहिलो स्थानीय तह बन्दै आएको छ ।
बुधबार जिल्ला खोप समन्वय समिति काभ्रेपलाञ्चोकका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुनसाङ लामालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले ३ वर्ष देखि निरन्तर प्रथम भएको भन्दै बधाई दिँदै आगामी बर्ष पनि निरन्तरताको कामना गर्नुभयो । भौतिक विकास, धन सम्पति भन्दा स्वास्थ्य महत्त्वपूर्ण रहेको भन्दै उनले स्वास्थ्य क्षेत्रलाई अझै प्राथमिकता दिएर बजेट विनियोजन गर्न अनुरोध उहाँको छ । नगर प्रमुख कुनसाङ लामाले पूर्णखोप सुनिश्चित नगर घोषणा भएकोमा खुसी व्यक्त गर्दै यसका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर अघि बढेको भन्दै उनले खोपको कारण बाल मृत्युदर घटेको उहाँको भनाइ छ ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले स्वास्थ्यका सूचकहरु पछिल्लो समय सुधारिदै गएको भन्दै नमोबुद्ध लगायतका स्थानीय तहमा स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेको बताउनुभयो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको लागी सबैको सहयोग र प्रतिवद्धता आवश्यक भएको उहाँको भनाइ छ । विद्यालय भर्ना अभियान सुरु हुने बेला भएको भन्दै उहाँले भर्ना गर्न पूर्ण खोप कार्ड अनिवार्य गर्न सकिए उपयोगी हुने उल्लेख गर्नुभयो । कार्यकममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले विद्यालय भर्ना गर्दा पूर्ण खोप सुनिश्चितता कार्ड अनिवार्य गर्न सबै विद्यालयलाई निर्देशन दिने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका सचिव नगेन्द्र अधिकारी, नेकपा एमाले नगर कमिटी अध्यक्ष गणेश लामा, नेपाल कम्युनिष्ट पार्टी नमोबुद्धका अध्यक्ष समेत रहेका नमोबुद्ध नगरपालिका वडा नं १० का अध्यक्ष रामकृष्ण अधिकारी, जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपाने, नगर स्वास्थ्य शाखाका कर्मवाङ्गेल लामालगायतले मानव स्वास्थ्य र जीवनमा खोपको महत्वबारे चर्चा गर्दै बालबालिकाको अधिकार सुनिश्चित गराउन सरोकारवाला सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो । विभिन्न मितिमा पूर्णखोप सुनिश्चितता घोषणा भएका ११ वटै वडालाई पनि प्रमाणपत्र प्रदान गरिएको छ । चालु आर्थिक बर्षको चैतसम्मको अवधिमा १६ देखि २३ महिनासम्म उमेरका १ सय ८४ बालबालिकाले १५ महिना भित्र पाउनुपर्ने खोप पाएको सुनिश्चित गरेपछि घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पवनकुमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार, यकिन गर्न स्वास्थ्य स्वयंसेविकाका साथै स्वास्थ्यकर्मीहरूले घरदैलो गरेका थिए । यसअघि विभिन्न मितिमा नगरपालिकाका ११ वटै वडा पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन् । कार्यक्रममा सहभागी सबैले आगामी आर्थिक बर्षमा पनि सबै बालबालिकालाई पूर्ण खोप सुनिश्चित गर्न प्रतिवद्धता जनाएका छन ।
प्रतिक्रिया