रोशी । रोशी गाउँपालिका–२ गुम्बागाङ पुरानोगाउँमा नवनिर्मित डम्फूपार्कमा बनेको डम्फू उद्घाटन भएको छ । बिहीवार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिमबहादुर वाईबाले संयुक्त रुपमा डम्फूको उदघाटन गर्नुभएको हो । डम्फू उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष लामाले स्थानीय संस्कृती र परम्परालाई संरक्षण, सम्बद्र्धन र निरन्तरता दिने काम स्थानीय सरकारको अधिकार क्षेत्र र कर्तव्य भित्र पर्ने र त्यो काम रोशी गाउँपालिकाले गर्दै आएको बताउनुभयो । रोशी गाउँपालिकाभित्र रहेका पर्यटकीय तथा साङ्स्कृतिक स्थलहरूलाई कसरी संरक्षण, प्रवद्र्धन र जीवन्त राख्दै पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ भनेर गाउँपालिकाले सोचेर लागिरहेको उहाँको भनाई छ ।डम्फू पार्कलाई पूर्णता दिन गाउँपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने लामाले प्रतिबद्धता जनाउनुभयो । बागमती प्रदेशको भाषा दिवसको अवसर पारेर आयोजना गरेको पार्क उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष वाइबाले रोशी गाउँपालिका भित्र रहेको विभिन्न समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिलाई समान रूपमा महत्व दिदै संरक्षण र प्रवर्धन गर्दै आएको बताउनुभयो । विभिन्न जातजातिको भाषा, संस्कार, संस्कृतिलाई जगेर्ना गर्न सके मात्र इतिहास जोगाउन सकिने उहाँको भनाई छ । रोशी गाउँपालिका–२ का वडाध्यक्ष हस्तमान लामाले डम्फू पार्कले यो क्षेत्रको पहिचान बदल्ने र पर्यटन प्रवर्धनमा बढवा दिने विश्वास व्यक्त गर्नुभयो । स्थानीय तथा समाजसेवी सार्कीमान लामाले तामाङ समुदायको संस्कृतिलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनका लागि समिती गठन गर्न सल्लाह दिएर स्थानीय युवाहरूले यो पार्क निर्माण गर्को भन्दै युवाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यसरी नै समाजसेवी चन्द्रबहादुर लामाले तामाङ समुदायमा पेङ्दोर्जेले अफ्नो श्रीमतीलाई खुशी पार्न निर्माण गरेको डम्फूको महत्व धेरै रहेको बताउनुभयो । सम्पदा संरक्षण तथा पर्यटन प्रवर्धन समितीका अध्यक्ष शंखजीत लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्ववडाध्यक्ष पोते लामा र स्थानीय युवा प्रताप लामाले डम्फू पार्कले तामाङ समुदायको साङ्स्कृतिक बाजाको प्रवद्र्धनसहित पर्यटन प्रवर्धनमा बल पुग्ने बताउनुभयो । सोही कार्यक्रममा जग्गादाता रामबहादुर लामालाई सम्मानपत्र प्रदान गरिएको थियो । लामाले डम्फू पार्क निर्माणको लागि करिब एक रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । त्यसरी नै अन्य सहयोगीहरूलाई पनि सम्मान गरेका थिए ।रोशी गाउँपालिकाको १० लाख आर्थिक सहयोगमा सम्पदा संरक्षण तथा पर्यटन प्रवर्धन समितीले तामाङ समुदायको साङ्स्कृतिक पहिचान डम्फूसहितको पार्क निर्माण गरिएको हो । कार्यक्रम सञ्चालक अमृत लामाले गरेको कार्यक्रममा तामाङ दोहरी कलाकारहरूले तामाङ समुदायको संस्कृती झल्कने गित प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया