बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको व्यापारिक केन्द्र बनेपामा अवस्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा छैटौँ ज्ञानकुञ्ज रोड रेस २०८३ आयोजना हुने भएको छ। विगत ६ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको उक्त रोड रेस यस वर्ष बैशाख २६ गते बिहान साढे पाँच बजे हुने भएको हो । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप बैद्यले एसईई २०८२ मा सहभागी भएका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । सफल जीवनका लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित आयोजना गरिने प्रतियोगिताले एसईई परीक्षापछि विद्यार्थीहरूको खाली समयलाई सदुपयोग गर्नुका साथै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र नेतृत्व विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद न्यौपानेले ग्यानकुञ्ज शैक्षिक प्रतिष्ठानने उत्कृष्ट शिक्षासहित विभिन्न समाजिक कार्य गर्दै आएको बताए । महासंघले सकारात्मक कामको लागि सदैव सहयोग रहने उनको भनाई छ ।प्रतियोगिताअन्तर्गत छात्रतर्फ ७ किलोमिटर दौड हुने छ । यो दौड पनौती बसपार्कदेखि बनेपा चारदोबाटो हुँदै विद्यालय प्राङ्गणसम्म सञ्चालन हुनेछ । त्यसैगरी छात्रातर्फ ३ दशमलव ६ किलोमिटर दौड बनेपा तीनदोबाटोदेखि चारदोबाटो, चण्डेश्वरी हुँदै विद्यालय प्राङ्गणसम्म हुने आयोजकले जनाएको छ । छात्र र छात्रा दुवै विधाका विजेताका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुनेले ३० हजार रुपैयाँ, द्वितीयले २० हजार रुपैयाँ र तृतीयले १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन प्रतिव्यक्ति १०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ। नाम दर्ताको अन्तिम मिति बैशाख २४ गते रहेको छ । आयोजकका अनुसार सहभागी सबैलाई टिसर्ट वितरण गरिनेछ भने एक लाख रुपैयाँसम्मको दुर्घटना बीमाको व्यवस्था समेत गरिएको छ । कार्यक्रमका लागि अनुमानित खर्च ६ लाख ३० हजार रुपैयाँ रहने बताइएको छ । सहभागी हुन इच्छुक विद्यार्थीहरूले एसईई २०८२ को प्रवेशपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइज फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया