धुलिखेल । नेपालमा कृषि बीमा लागू भएको डेढदशक भए पनि यसमा किसानको आकर्षण भने निकै कम भएको तथ्यांक सार्वजनिक भएको छ । बागबानी विकास केन्द्र, हरिहरभवनका बागबानी विकास अधिकृत रितेशकुमार झाले दिनुभएको तथ्यांकअनुसार हालसम्म देशमा कृषि बीमा गर्ने किसानको संख्या ४ प्रतिशत मात्र रहेको छ । किसानलाई कृषि बीमा गर्नुपर्छ भन्ने नै थाहा नहुँदा प्राकृतिकरुपमा बालीहरुको क्षति धेरै भएपनि क्षतिपूर्ति पाउने किसान नगन्य देखिएको हो । अहिले बीमा कार्यलाई सहजता पुर्याउन नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई जिल्ला अनुसार कार्यक्षेत्रसमेत तोकेको छ । हाल कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका–२०७९ अनुसार बाली बीमा हुने गरेको छ । बाली तथा पशुधनको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधी–२०८२ पनि कार्यान्वयनमा छ तर पनि यस कार्यक्रममा किसानहरुलाई उल्लेख्यरुपमा सहभागी गराउन सकिएको छैन । पछिल्ला केही वर्षयता कृषि क्षेत्रमा किसानको आकर्षण निकै घटेकाले यस कार्यक्रममा किसानहरुलाई जोड्न नसकिएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडी बताउनुहुन्छ । उहाँका अनुसार यस कार्यालयले भने बीमाबारे किसानलाई विभिन्न कार्यक्रम र अभिमूखीकरणबाट चेतना जगाउने काम गरिरहेको छ । कृषि विकास बैंक, धुलिखेलका कर्जा शाखाका प्रमुख बिनोद रिजालका अनुसार कृषि बीमा गरेका किसानहरुले अधिकतम ६ प्रतिशत ब्याजदरमा १० वर्षसम्मका लागि ५ लाखसम्म ऋण पाउने व्यवस्था छ । तर बीमामा आकर्षण नै कम भएका कारण यस्तो ऋण लिने किसानको संख्या निकै कम छ । यस बैंकले हाल देशभरि ५२ प्रतिशत लगानी कृषि क्षेत्रमा गरेको र काभ्रे शाखाले भने ७२ प्रतिशत कृषिमा लगानी गरेको भए पनि बीमा कार्यक्रममा भने कम किसान मात्र समेटिएका छन् । काभ्रेको पनौतीका किसान देवकृष्ण मानन्धरलाई कृषि बीमा के हो र कसरी गरिन्छ भन्ने नै थाहा नभएको बताउनुहुन्छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिन्धुपाल्चोक शाखाका प्रमुख निराजन श्रेष्ठ आफूहरुले सकेसम्म किसानहरुलाई बीमाबारे जानकारी दिलाउन सधैं सक्रिय रहेको बताउनुहुन्छ । कृषि गणना–२०७८ का अनुसार नेपालमा कृषि पेशामा संलग्नहरुको संख्या ६०.२० प्रतिशत छ । यस्तै पशुपालनमा संलग्नहरुको संख्या ८२ प्रतिशत छ । हाल कृषि तथा पशुपन्छी बीमा कार्यान्वयनमा १४ वटा निर्जीवन बीमा कम्पनीहरुको संलग्नता छ । तथ्यांकअनुसार नेपालमा कूल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर छ । जसमध्ये हाल १० लाख ३० हजार हेक्टर जमिन बाँझै छ । औसतमा प्रतिकृषक परिवार चलन भइरहेको जमिन ०.५५ हेक्टर रहेको छ । यो संख्या ०६८ को तथ्यांकमा ०.६८ हेक्टर थियो । हाल किसान परिवारले चलन गरेको जग्गा २२ लाख १८ हजार हेक्टर छ भने सिंचाई सुविधा पुगेको क्षेत्रफल १२ लाख ९ हजार हेक्टर मात्रै रहेको छ । खनजोतका लागि ट्याक्टर प्रयोग २२ प्रतिशत र आफ्नै घरबाट कृषि उत्पादन बेचबिखन गर्ने किसान ८ प्रतिशत मात्रै रहेका कार्यालयको तथ्यांक छ । यस्तै आफ्नै उत्पादनले वर्षभरि खान पुग्ने किसानको संख्या ४५ प्रतिशत, कृषि ऋण लिने किसानको संख्या १२ प्रतिशत र कृषि बीमामा संलग्नहरुको संख्या ४ प्रतिशत रहेको झाले जानकारी दिनुभयो ।
प्रतिक्रिया